हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले जाजरकोट जिल्ला केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित र पीडितहरुलाई सहयोग गर्ने भएको छ ।

बिहीबार बसेको पालिकाको कार्यपालिका बैठकले उक्त निर्णय गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले बताए । गत शुक्रबार गएको भूकम्पबाट मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली तथा शोक प्रकट गर्दै पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले २–२ दिनको तलब सहयोग गर्ने भएको हो ।

करिब ५४ जनप्रतिनिधि र १ सय २५ जना कर्मचारीको दुई दिनको तलब जम्मा गर्दा २ लाख रुपैयाँ हुने अनुमान गरिएको प्रशासकीय अधिकृत रोकाले बताए । यसअघि हेटौंडा उपमहानगरपालिकाले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडितहरुका लागि जनप्रतिनिधि र कर्मचारीको तलब कटौती गरेर २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो