हेटाैडा । मकवानपुरको कैलाश गाउँपालिकाले गर्भवती महिलालाई पौष्टिक आहार वितरण गरेको छ । मंगलबार कैलाश–७, ताम्लाङस्थित ङिको स्थास्थ्य चौकीमा स्थानीय गर्भवती महिलाहरुलाई विभिन्न १२ थरीका पौष्टिक प्रर्वद्धन कोसेली वितरण गरिएको हो ।

गर्भावस्थामा उचित पोषणको अभावका कारण आमा र जन्मने नवशिशुको स्वास्थ्यमा प्रतिकुल असर नपरोस् भनेर गर्भवती महिलालाई पौष्टिक आहार वितरण गरिएको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए ।

गर्भवती आमा र गर्भमा रहेका बच्चालाई आवश्यक पर्ने कार्बोहाइडेट, प्रोटिन, भिटामिन र मिनरलयुक्त गेडागुडी, सर्वोत्तम पीठो, हर्लिक्स, बदाम, ओखर, काजु, मासको दाल, कुखुराको अण्डालगायतका पौष्टिक आहार सम्मिलित प्याकेट वितरण गरिएको हो ।

अध्यक्ष मुक्तानका अनुसार, प्रत्येक महिना पालिकाभित्रका सबै वडाका गर्भवती महिलाहरुलाई पौष्टिक आहार वितरण गरिँदै आएको छ । ‘हामीले स्वास्थ्यकर्मीहरुसँग सल्लाह लियौँ, गर्भवती अवस्थामा महिनैपिच्छे ८ पटक स्वास्थ्य जाँच गर्नुपर्ने हुँदो रहेछ । हामी स्वास्थ्य जाँच गरेपछि मात्रै उक्त पौष्टिक आहारको प्याकेट वितरण गर्छौँ । एउटा गर्भवती महिलाले ८ पटक पौष्टिक आहारको प्याकेट पाउँछिन् । जसले गर्दा गर्भवती महिलाहरुलाई नियमित स्वास्थ्य जाँच गर्नुपर्ने रहेछ भन्ने ज्ञान हुन्छ र आमा–बच्चा दुवैलाई राम्रो हुन्छ ।’ उनले भने ।

पालिकाले विगत ३ दिनमा मात्रै ८० जना गर्भवती महिलाको स्वास्थ्य जाँच गर्नुको साथै पौष्टिक आहारको प्याकेट वितरण गरेको छ । त्यस्तै, गर्भवती महिलालाई प्रसुती गराउन अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था मिलाइएको छ ।

प्रसुती गराउन स्वास्थ्य चौकी आउने महिलालाई गाउँपालिकाले ४ हजार ८ सय रुपैयाँ, बच्चा र आमाको लागि न्यानो कपडा र अन्य राहत सामग्री वितरण गर्दै आएको अध्यक्ष मुक्तानले बताए । उनले बाल विवाह न्यूनिकरण र मातृ तथा शिशु मृत्युदर रोक्नका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको समेत बताए ।

कार्यक्रममा कैलाश–७ का वडाध्यक्ष उदास कुमार भोलन, स्वास्थ्य शाखा प्रमुख कृष्ण कुमार यादव, रिपोर्टर्स क्लब नेपाल मकवानपुरका अध्यक्ष बलराम पुडासैनीलगायतको उपस्थिति रहेको थियो ।