हेटौंडा । मनहरी गाउँपालिका वडा नं. ५ मा भएको दोस्रो वडाअध्यक्ष नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक सूर्यकिरण युवा क्लवले हात पारेको छ ।

बसन्तपुर स्थित राप्ति खेलमैदानमा शुक्रबार भएको फाइनल खेलको निर्धारित समयमा गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटबाट ४–२ गोल अन्तरले ऋषेश्वर टोल विकास संस्था ‘ए’ लाई पराजित गर्दै आयोजक सुर्य किरण युवा क्लवले उपाधि हात पारेको हो ।

विजेता टोलि सूर्यकिरण युवा क्लवले नगद रु ३० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता ऋषेश्वर टोल विकास संस्था ‘ए’ ले नगद २० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । फाइनल खेलमा म्यान अफ द म्याच सुर्य किरणको गोल रक्षक रुपेश स्याङ्तान भएको छ।

संविधान सभा सदस्य राजाराम स्याङतानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ५ नम्बर वडा अध्यक्ष दिपेन्द्र अधिकारी, नेकपा माओवादी केन्द्र मनहरी गाउ कमिटि अध्यक्ष राम प्रसाद कालाखेती, नेपाली कांग्रेस मनहरी उपसभापति उत्तम बहादुर थापा, मनहरी गाउँपालिका खेलकुद विकास समिति सदस्य कविन दर्लामी मगर, इलाका प्रहरी कार्यालय नेवारपानीको प्रमुख रामशरण दुलाल, नेकपा माओवादी केन्द्र ५ नम्बर वडा अध्यक्ष मिनबहादुर लामा, बसन्तपुर टोल विकास संस्थाको अध्यक्ष गजाधर सुबेदी, ऋषेश्वर टोल विकास संस्थाका अध्यक्ष नवराज उप्रेती, चुरियामाई टोल विकास संस्थाको अध्यक्ष कुमार राना, शिखर टोल विकास संस्थाका अध्यक्ष वीर बहादुर रुम्बा, दुग्देश्वर टोल विकास संस्थाका अध्यक्ष लाल बहादुर स्याङ्गतान, लोकप्रिय वन उपभोक्ताको अध्यक्ष दल बहादुर स्याङ्गतान लगायत, वडा सदस्यहरु, स्थानीय बुद्धिजीवी, समाजसेवीको आतिथ्यता रहेको थियो। कार्यक्रम क्लवका सचिव मिलन ढुंगानाको सभाध्यक्षतामा भएको थियो ।

५ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा वडा स्तरिय खेलकुद विकास समितिको समन्वय तथा सुर्य किरण युवा क्लबको आयोजनामा टोल स्तरिय दोस्रो वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगितामा आयोजक सहित पाँच टोल विकास संस्थाबाट ९ टिम सहभागी रहेको थियो ।