हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले ९० करोड २१ लाख ७१ हजार ८ सय ७३ रुपियाँको बजेट पारित गर्दैगर्दा भौतिक पूर्वाधारतर्फ ठूला योजनाहरुको तर्जुमा गरिएका छन् । केही योजनाहरु क्रमागत छन् भने केही नियमित योजनाहरु रहेका छन् ।

सार २२ गते उपाध्यक्ष सीता पुलामी मगरले १३ औँ अधिबेसनको दोस्रो बैठकमा आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको बजेट बक्तब्य र बिनियोजन बिधेयकलाई ध्वनी मतका आधारमा पारित गरिएको थियो । पारित भएका योजनाहरुको पूर्ण सूचि प्राप्त नभएपनि बिषयगत रुपमा बजेटका क्षेत्रहरु निर्धारण गरिएको छ ।

गाउँपालिकाले यस बर्ष आफ्नो भवन निर्माण गर्ने जनाएको छ । त्यसैगरी निर्माण हुन बाँकी रहेको ४ नं वडा कार्यालयको भवन पनि निर्माण गर्ने गाउँ सभाले पारित गरेको बजेटमा उल्लेख छ । गाउँपालिकाको प्रशासनिक भवन निर्माण र ४ नं वडा कार्यालय निर्माणका लागि ३ करोड १५ लाख रुपियाँ बिनियोजित छ ।

त्यसैगरी गाउँपालिकाले तत्काली एकराज उप्रेती नेतृत्वको सरकार हुँदा थालनी गरिएको साबिक हाँडीखोला गाविसतर्फका ५ वटा पक्की पुल निर्माणका लागि ७ करोड ८० लाख रुपियाँ बिनियोजन गरेको छ । निरन्तर यी पुलहरु निर्माणका लागि गाउँपालिकाले नियमित रुपमा पछिल्ला बर्षहरुमा लगानी गर्दै आइरहेको छ ।

आर्थिक बर्ष २०८०/०८१ का लागि शिक्षा तर्फ गाउँपालिकाले २० करोड ८६ लाख रुपियाँ बिनियोजन गरेको छ । त्यसैगरी स्वास्थ्यतर्फ ४ करोड ९५ लाख, कृषिमा १ करोड ५९ लाख ९८ हजार, पशु विकासतर्फ १ करोड ३१ लाख, उद्योग, सहकारी टोल विकास परिचालनका लागि ५९ लाख ६० हजार, महिला विकासका लागि २५ लाख ५० हजार, बालबालिकाको विकासका लागि २७ लाख २० हजार, वन वातावरण र विपद् व्यवस्थापनमा १ करोड १० लाख बिनियोजित छ ।

त्यसैगरी न्यायिक क्षेत्रका लागि २२ लाख ६२ हजार, ज्येष्ठ नागरिकका लागि ७ लाख २० हजार, दलित विकासका लागि ८ लाख, आदिबासी जनजातिको विकासका लागि २१ लाख ५० हजार, अपांगता क्षेत्रका लागि २० लाख ८० हजार, संस्कृति संरक्षणमा ३ लाख, युवा क्षमता विकासका लागि ३२ लाख, भूमि व्यवस्थाप र खरको छानामुक्त गर्न ३९ लाख बिनियोजन भएको छ ।

हरेक वडा कार्यालयहरुको प्रशासनिक चुस्तताका लागि सञ्चालन खर्च ५० लाख, डिजिटल प्रोफाइल र परामर्श खरिदका लागि ५० लाख, प्रशासनिक खर्च (चालू खर्च) १२ करोड ५० लाख, सामाजिक सुरक्षा तथा पन्जीकरणतर्फ ३८ लाख, वडागत योजना (वडा सिलिङ) ७ करोड ५० लाख, समपुरक योजनाका लागि ७ करोड १० लाख, लागत साझेदारी योजना (६०÷४०) का लागि १ करोड रुपियाँ बिनियोजित छ ।

गाउँपालिकाले मनहरी गाउँपालिका ८ र ९ को सीमाक्षेत्रमा रहेको मध्यवर्ती क्षेत्रमा ठूलो सिमसार ताल निर्माण गर्ने जनाएको छ । सो कार्यका लागि ९० लाख बिनियोजन भएको छ । पर्यटकीय हिसावले विकास गर्नका लागि ताल बनाउन लागिएको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताए ।

त्यसैगरी आकस्मिक माग र योजनाहरु पूरा गर्नका लागि बिगतमा झैँ अध्यक्ष र उपाध्यक्ष पूर्वाधार विकास कार्यक्रमका लागि २ करोड रुपियाँ बिनियोजित छ ।