हेटौंडा । मकवानपुरको बिकट कैलाश गाउँपालिका अब एक्सन प्लानमा चल्ने भएको छ । कैलाश गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लोक बहादुर मुक्तानले पालिका अब ‘एक्सन प्लान’मा चल्ने बताएका हुन् ।

पालिकाको सबै शाखाहरुसँग बार्षिक कार्य तालिका लिएर सोही अनुसार कार्य सम्पादन गरिने स्पष्ट पारे । अन्तिम चौमासिकमा मात्र कामको चाप हुने अवस्था न्युनिकरण गर्दै सुशासन कायम राख्न प्रतिवद्ध रहेको उनले बताए । अध्यक्ष मुक्तानले जिल्ला सदरमुकामबाट बिकटमा रहेको कैलाशले आर्थिक वर्ष २०७९/०८०को सबै कारोबार विद्युतीय माध्यबाट भुक्तानी गर्न सफल भएको जानकारी दिए ।

समिक्षा कार्यक्रमलाई सम्बोधन गदै ७० प्रतिशत करारका कर्मचारी रहँदा समेत सेवामा कुनै कमि हुन नदिएको दाबि गर्दै आगामी दिनमा सेवामा कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरे । उनले कर्मचारको मेहनत र पालिका आएको सुशासनले वेरुजुमा कमि आएको बताए । “हामीले नीति अनुसार चल्न सके सुशासन ल्याउन सक्छौ, अब कैलाशले काममा विश्वास गर्दछ ।” – अध्यक्ष मोक्तानले भने । पलिकामा बिद्युतिय हाजिरिको व्यवस्था गर्नुको साथैं इमान्दारिताका साथ जनसेवा गर्ने कर्मचारीलाई पुरस्कृत पनि गरिने उनले जानकारी दिए ।

कार्यक्रममा कैलाश–२, का वडाध्यक्ष राजेन्द्र घिसिङले स्थानीय तहबाट हुने निर्माण कार्य समयमै सम्पन्न हुन नसक्ने समस्या रहेको भन्दै ठेक्का प्रणाली बलियो बनाई समयमै निर्माण कार्य सम्पन्न नगराउने ठेकेदार र निर्माण कम्पनीलाई कार्रवाही गर्न जरुरी रहेको बताए । वार्षिक समिक्षा कार्यक्रममा प्रमुख प्रशासनिक अधिकृत अशोक बिष्ट, विभिन्न शाखाका प्रमुखहरुले कार्य प्रगतिका प्रस्तुती गरेका थिए ।