हेटौंडा । अविरल वर्षासँगै बाढी पहिरो जस्तो विपदजन्य जोखिम रहेकाले सचेत रहन मकवानपुरको कैलाश गाउँपालिकाले गाउँबासीलाई सचेत गराएको छ । बाढी पहिरोको उच्च जोखिममा रहेको कैलाश गाउँपालिकाले आइतबार सूचना जारी गर्दै निरन्तर वर्षाका कारण बाढी पहिरोका जोखिमका साथै जनधनको क्षति हुनसक्ने भन्दै सचेत रहन र आपत परेमा सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेको छ ।

जिल्ला प्रहरी, स्थानीय प्रहरीका साथै गाउँपालिकाका पदाधिकारी र कर्मचारीहरुकोसमेत सम्पर्क नम्बर उल्लेख गरी गाउँपालिकाले कुनै विपदको जोखिम देखिएमा वा कुनै घटना भए तत्काल सम्पर्क गर्न आग्रह गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टद्धारा जारी विज्ञप्तिमा अझै केहीदिन भारी वर्षाको सम्भावना रहेकाले खोला, खहरेको तटीय बस्ती र पहिरो सम्भावित क्षेत्रमा बसोबास गर्नेहरुले आवश्यक सचेतता अपनाउन भनिएको छ ।

यता गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले गाउँमा कुनै पनि विपदका घटना नहोस् भनी सचेतना फैल्याउने काम गरिएको बताउँदै सम्भावित विपदको सामना गर्न गाउँपालिकाले आवश्यक व्यवस्थापन तयारी गरिसकेको बताए । विभिन्न संघसंस्थासँगको समन्वयमा आफूहरु सम्भावित विपदमा उद्दार र राहतका लागि तयारी हालतमा रहेको बताए । ‘सकभर गाउँमा विपद नपरोस् भन्नका लागि सचेत गराएका छौं, गाउँको भौगोलिक बनावटका कारण बाढी पहिरोको बढी जोखिम छ, यदि विपदका घटना भइहाले उद्दार, राहत र अन्य व्यवस्थापनको लागि गाउँपालिकाले तयारी गरेको छ ।’ उनले भने ।

गए रातिदेखि सुरु भएको वर्षा अझै केहीदिन निरन्तर हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।