हेटौंडा । कैलाश गाउँपालिकाको प्रमुख पहुँच मार्ग चुनियाँ-नामटार-कालिकाटार सडक स्तरोन्नतिका लागि सोमबार शिलान्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले संयुक्त रूपमा सडकको शिलान्यास गरेका हुन् ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मोक्तानले यो सडक राज्यको वेवास्ताका कारण अझै पनि जिर्ण रहेको बताए । उनले जनप्रतिनिधिको रूपमा आफुहरू आइसकेपछि सडक स्तरोन्नतिका लागि निरन्तर संघ र प्रदेश सरकारसंग पहल गरेको र यसको परिणाम स्वरूप पछिल्लो समय बजेट विनियोजन भइरहेकोले विभिन्न खण्डमा काम भइरहेको बताए । उनले सडकमा बजेट विनियोजनका लागि प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको विशेष भुमिका रहेको बताए । उनले सडक स्तरोन्नतिसहित कालोपत्रेको काम पनि अघि बढाउने बताउँदै स्थानीयलाई सहयोगका लागि आग्रह गरे ।

उपाध्यक्ष ठकुरीले सबैको साथ सहयोगबाट मात्रै स्थानीय क्षेत्रको विकास हुने बताउँदै सडक निर्माणका क्रममा निरन्तर निगरानी र अनुगमन गर्न स्थानीयलाई आग्रह गरे । कैलाश-१० का वडा अध्यक्ष सूर्यबहादुर ब्लोनको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरी, ९ नम्बर वडा अध्यक्ष भुवनसिं घलान, निर्माण व्यवसायी सुनिल गोले,  स्थानीय कमल अर्याल लगायतको उपस्थिति रहेको थियो ।

शिलान्यास गरिएको चुनियाँ-नामटार-कालिकाटार सडकको कुमल्टारदेखि बनझाक्री खोल्चा (च्याखेटार) खण्डको साढे ७ किलोमिटर सडक स्तरोन्नतिका लागि बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको पूर्वाधार विकास कार्यालय चितवनबाट अमृता/आकृति मालिका/ग‍ोले जेभी हेटौंडा-१ ले भ्याटसहित १४ करोड २१ लाख २९ हजार ५ सय ९० रूपैयाँमा ठेक्का सम्झौता गरेको छ । निर्माण कम्पनीले १८ महिनामा सम्पन्न गर्ने जनाइएको छ । गाउँपालिका जान सहजताका लागि गाउँपालिकाले विभिन्न खण्डमा स्तरोन्नतिको काम गराइरहेको छ ।