हेटौंडा । पूर्वसचिव भीम उपाध्यायले जागिरे जीवनको अवकाशपछि राजनीतिक क्षेत्रमा युवा वर्गलाई अगाडि बढाउन अतुलनीय योगदान पुर्‍ याएका छन । उनले सरकारी जागिरबाट अवकाश पाएपछि युवाहरुलाई राष्ट्रिय राजनीतिमा सहभागि हुन प्रोत्साहन गरेका हुन ।

उनले सामाजिक संजालमा म किन युवाहरूको घोर पक्षधर ? भनेर लेखेका पनि छन । उनले बुढा नेताहरूले युवा मैत्री शासन र सत्ता चलाएर युवाहरूलाई देशबाट पलायन गर्ने कर्तुत गर्दै आएको आरोप लगाएका छन । उनले अभिभावकहरू आफ्ना सन्तानहरूलाई नेपाल बस्नै नसक्ने परिस्थिति सिर्जना गर्दै लगेकोमा बुढा नेताहरूसंग आक्रोशित र विमूख भएको बताए । बुढाबुढी भत्ताका नाममा बुढाहरूलाई अल्मलाउदै तिनकै युवा सन्तानहरूलाई नै देशबाट बर्हिगमन गर्न बाध्य पार्दै लखेट्ने दाउ मात्रै भएको उनको भनाई छ ।

उनले अब युवाहरूले शासन नसम्हालेसम्म बुढाहरूबाट युवामैत्री शासन नआउने बताए । बुढा नेताहरूले आफू र आफ्ना नातापाताबाहेक अरूको हितमा काम नगरेको उनको भनाई छ । उनले अब नेतृत्व पंतिमा युवाहरूलाई आएर देश बनाउ आग्रह समेत गरेका छन ।
उनले युवा पुस्तालाई सहयोग, समर्थन र अगाडि बढ्न प्रोत्साहन समेत गरेका छन । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन) लाई उनले समर्थन गरेका हुन । उनले चुनावका बेला खुलेरै बालेनलाई मतदान गर्न काठमाडौंवासीलाई आग्रह गरेका थिए । उनले लौरो चुनाव चिन्हबाट उठेका स्वतन्त्र उम्मेदवार बालेनलाई सबैले साथ र सहयोग गर्न आग्रह गरेका थिए ।

सचिवबाट अवकाश पाएपछि उपाध्यायले सरकारका गतिबिधि तथा समसामयिक बिषयमा खरो आलोचना र टिप्पणी गर्दै आएका छन् । उनले नेपालमा उत्पादन हुने गाँजालाई लागूऔषधको रुपमा नभई औषधीको रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिएका छन । उनले गाँजाबाट आर्युर्वेद्धिक औषधि, तेल र कागज र यसको प्रयोगबाट कपडा, व्यागहरु निर्माण गरेर स्वदेशमा मात्रै नभई बिदेशमा पनि निर्यात गर्न सकिने बताएका छन ।
उनले स्वदेशमै भएका र उपलब्ध सामाग्रीको भरपुर प्रयोग गरेर यहाँ रोजगारी, यहाँका जनतालाई स्वरोजगार, उत्पादन र अर्थसंग जोड्दै स्वनिर्भर, आत्मनिर्भर बन्नु पर्ने तथा नेपालमा दैनिक उपभोग्य बस्तुको आयात घटाई, नेपालबाट बिदेशमा हरेक सामाग्री निर्यात गर्ने बातावरण बनाउन जोड दिर्दै आएका छन । उनी तितो, खरो र स्पष्ट वक्ता पनि हुन ।