हेटौँडा । हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । सम्पत्ति विवरणमा उनले आफूसँग १५ तोला सुन रहेको उल्लेख गरेकी छन् ।

लामा पहिलो स्थानीय तह निर्वाचनमा हेटौँडा उपमहानगरको उपमेयर थिइन् । पारिश्रमिकबापत पाएको ४० हजार रुपैयाँ कृषि विकास बैंक लिमिटेड हेटौँडा शाखामा रहेको लामाले जनाएकी छन् । उनले सम्पत्ति विवरणमा आफूसँग १५ तोला सुन, २० तोला चाँदी र पारिश्रमिकबाहेक २० हजार बैंक मौज्दात रहेको उल्लेख गरेकी छन् ।

आफू अन्य कुनै पनि कारोबारमा संलग्न नभएको लामाले उल्लेख गरेकी छन् । उनका श्रीमान् सुनबहादुर लामा भने व्यवसायी हुन् । श्रीमान् लामाको नाममा कृषि विकास बैंकमा ४० लाख ऋण रहेको उनले जनाएकी छन् । श्रीमान्‌को नाममै ४० लाख बराबरको ट्याङकर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

सार्वजनिक सम्पत्ति विवरणअनुसार ससुरा कान्छा लामाको नाममा हेटौँडा–१ चाइनाक्वाटरमा ११ धुर घडेरी, सासु सानुमैयाको नाममा सवा १० धुर घडेरी, सवा ६ धुर घडेरी र ससुरा कान्छा लामाको नाममा ११ रोपनी जमिन रहेको छ । छोरा सुमित लामाको नाममा २ लाख ५० हजार बराबरको एउटा मोटरसाइकल रहेको उल्लेख छ ।

लामाको एक छोरा र एक छोरी छन् । दुवै अध्ययनरत छन् । हेटौँडाको मेयरमा नेकपा (एकीकृत समाजवादी) मकवापुरको उपाध्यक्षसमेत रहेकी उनी गठन्धनबाट निर्वाचित भएकी हुन् । उनले विद्यार्थी कालमै एक गैरसरकारी संस्थामा काम गरेकी थिइन् । त्यसपछि लामा पूर्णकालीन राजनीतिमा लागेकी हुन् ।

साभारः- शिलापत्र