हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ४ मा रहेको हुप्राचौरलाई कुनैपनि वहानामा साँघुरो बनाउन खोजिए त्यो क्षम्य नहुने आवाज उठेको छ । नगरवासीहरुले हुप्राचौर मास्ने कुनैपनि कार्य स्वीकार्य नहुने आवाज उठाएका हुन् ।

२०४० सालमा नगर विकास समितिले जग्गाको प्लानिङ गर्दा ओपन पब्लिक प्लेसका रुपमा छुट्याईएको हुप्राचौरमा कंक्रिटका संरचना बनाएर अतिक्रमण हुन थालेपछि नागरिकहरुले आवाज उठाउन थालेका हुन् । खुल्ला रुपमा रहनुपर्ने चौरभित्र बिभिन्न संरचनाहरु निर्माण हुँदा चौर मासिएर साँघुरिएको छ ।

स्थानीय भिमसेन महतले हुप्राचौर खुल्ला चौरको रुपमा रहनुपर्ने बताए । उनले खुल्ला चौरको अवधारण बिपरित कम्पाउन्ड लगाउने काम भएको बताए । उनले यसअघि हुप्राचौर भित्र डाटा सेन्टर निर्माणको बिषय उठेको स्मरण गर्दै अन्य स्थानमा निर्माण गर्न सुझाव दिएको पनि स्मरण गरे । उनले हुप्राचौरलाई खुल्ला रुपमा राख्न र चौरको संरक्षण गर्नमा जोड समेत दिए । उनले २०७२ सालको भुकम्पको स्मरण गर्दै त्यसबेला नगरवासीले आश्रय लिएको बताए । उनले बालकदेखि बृद्धबृद्धाको लागि हुप्राचौर खुल्ला राख्नुपर्ने आवश्यकता प्रष्ट पारे ।

स्थानीय सुनिल गिरीले सानो बेलामा खेलेर हुर्केको हुप्राचौर खुल्ला रहेको स्मरण गर्दै अहिले मासिर्दै गएको प्रति चिन्ता व्यक्त गरे । उनले नगर विकासले गरेको प्लानिङ व्यवहारिक भएको जिकिर गर्दै खुल्ला रुपमा राखिएको चौरले सबैलाई फाइदा भएको बताए । उनले हुप्राचौरमा निर्माण भएको सूचना केन्द्र लगायतका बिभिन्न भवनहरु निर्माण हुँदा खाली चौर सबै अतिक्रमण हुने अवस्थामा पुगेको बताए । उनले प्राकृतिक विपत्ति आउँदा खुल्ला चौरमा मानिसहरु भागेर आउनुपर्ने भएकाले वरिपरि लगाइएको कम्पाण्ड पनि राख्न नहुने बताए । उनले जग्गाको प्लानिङ गर्दा हरेक क्षेत्रमा खुल्ला स्थान राख्न सुझाव पनि दिए ।

त्यस्तै स्थानीय गुञ्जन बहादुर न्यौपानेले हुप्राचौर भित्र कुनैपनि संरचना बन्न नहुने बताए । चौर भनेको खुल्ला रहनु पर्छ, कुनैपनि वहानामा यसलाई अतिक्रमण गरिनुहुँदैन् । उनले हेटौंडाको बासुदेव सभागृह भत्काएर हेटौंडा उपमहानगरपालिकाले निर्माण गर्न थालेको व्यवसायीक भवन निर्माणको कार्य गलत भएको बताए । बासुदेव सभागृह निर्माण गरेर संचालनमै नल्याई भत्काउनु जनताले तिरेको करको दुरुपयोग हो, उनले थपे अब यहाँ व्यवसायीक भवन बनाउनुको सट्टा यस स्थानलाई खुल्लै राख्नुपर्छ । यहाँ निर्माण हुने भनिएको भवन स्थान्तरण गरेर हस्पिटल वा शैक्षिक संस्थाको भवन निर्माण गर्न समेत उनले सरोकारवाला निकायलाई सुझाव दिए ।

पछिल्लो समय हेटौंडामा सार्वजनिक जग्गा अतिक्रमण गर्ने, भू–माफिया र जनप्रतिनिधिको समेत मिलोमत्तोमा सरकारी जग्गा व्यक्तिको नाममा गर्ने र सार्वजनिक जग्गा मास्ने काम तीव्र हुन थालेपछि अहिले जनस्तरबाटै आवाज उठ्न थालेका छन् । हेटौंडाको मुटुमा रहेको हुप्राचौरलाई अतिक्रमण र साँघुरो हुनेबाट जोगाउन आवाज उठिरहेको छ भने हेटौंडा नगरको १९ वटै वडामा ओपन पब्लिक प्लेसका लागि आवाज उठेको छ ।