हेटौंडा । व्यापारिक दृष्टिकोणले हेटौँडाको मुटु मानिने पारिजातपथ र भैरव रोडतर्फ अवैध रूपमा सटर निर्माण गर्ने विद्यालयका अध्यक्षलाई उपमहानगरपालिकाले अवैध संरचना हटाउने कार्यदलकै संयोजक बनाएको छ ।
हेटौँडा उपमहानगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठलले १० नम्बरका वडाध्यक्ष फुर्वा दोर्जे लामालाई अवैध संरचना हटाउने कार्यदलको संयोजक बनाउने निर्णय गरेको हो । उनी हेटौँडा–४, स्थित जिल्लाकै पुरानो भुटनदेवि माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत हुन् ।
अवैध संरचना हटाउने कार्यमा सामूहिक सहमति खोज्न मेयर मिनाकुमारी लामाले एमालेबाट निर्वाचित वडाध्यक्ष लामालाई उक्त जिम्मेवारी दिएकी हुन् ।
कार्यपालिकामा अल्पमतमा रहेकी मेयर लामालाई सबैको सामूहिक सहमतिमा काम गर्नुपर्ने बाध्यता छ । जसका कारण २०६० सालदेखि कानुनविपरीत नक्सा पास नै नगरी निर्माण गरिएको व्यावसायिक सटरबाट भाडा उठाउँदै आएको भुटनदेवि माविका अध्यक्षसमेत रहेका वडाध्यक्ष लामालाई कार्यदलको संयोजक बनाइएको हो ।
हेटौँडामा खुला मैदानलाई मासेर भुटनदेवि स्कुलले वर्षौंदेखि अवैध रूपमा निर्माण गरेको सटर भत्काउनुपर्ने दबाब मेयर लामामाथि छ । तर, वडाध्यक्ष लामालाई नै कार्यदलको जिम्मेवारी सुम्पिएपछि कानुनविपरीत निर्माण भएका संरचना भत्किनेमा नगरवासीले आशंका व्यक्त गरेका छन् ।
अव्यवस्थित संरचना व्यवस्थापन कार्यदलले नगरका १९ वटै वडामा कानुनविपरीत बनेका संरचनाहरूको मूल्यांकन र अनुगमन गर्ने जनाइएको छ । बैठकले ३५ दिने सूचना जारी गरी काम अघि बढाउने निर्णय गरेको मेयर लामाका प्रेस संयोजक राजन दहालले जानकारी दिए । शिलापत्रबाट












प्रतिक्रिया दिनुहोस्