हेटौंडा । बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र देव पाण्डेले मान्छेको जीवन सबैभन्दा ठुलो भएको बताएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा आत्महत्या रोकथाम सम्वन्धी समेचनामुलक कार्यक्रमलाई सम्बोधन गर्दै मान्छेको जीवन रक्षाका लागि आत्महत्याको दर घटाउदै लैजानुपर्नेमा जोड दिए ।

समुदाय र प्रहरीको सहकार्यबाट मात्र आत्महत्या रोकथाम गर्न सकिने उनको भनाई छ । अहिले आत्महत्याको घटना धेरै भएकाले यसलाई सचेतनामुलक कार्यक्रमबाट केही न्यूनीकरण गर्न सकिने उनको भनाई छ ।

मानिसहरुले आफ्नो जीवनको महत्व नबुझ्दा आत्महत्या गर्ने गरेको भन्दै उनले सबैले जीवनको महत्व बुझ्नुपर्ने बताए । आफुले साचेका काम पुरा गर्न नसक्दा आत्महत्याको सोच आउने भएकाले यसलाई आफैंले नियन्त्रण गर्नुपर्ने उनको भनाई छ । जीवनमा कुनै क्षण र समयमा असफल भएका व्यक्तिपछि सफल भएको विश्वमा धेरै घटनाहरु रहेको भन्दै उनले आत्महत्या गर्न नहुने धारणा राखे ।

शिक्षक, राजनितिक दलका नेता, कार्यकर्ता लगायत सबै क्षेत्रले जीवनको महत्व बुझाउने विषयमा बुझाउनुपर्ने उनले बताए । जीवनको महत्व बुझाउने पहिलो पाठशाला नै परिवार भएकाले परिवारका अभिभावकले परिवारको रेखदेखसँगै समस्या बुझ्नुपर्ने उनको भनाई छ ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण खनाल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रम बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरिक्षक किरण बर्जाचार्यको अध्यक्षतामा भएको हो ।