काठमाडौं । अभिनेता दीपकराज गिरीले ६० वर्ष उमेर कटेका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ‘छक्कापञ्जा’ अभिनेता दीपकले घुमाउरो ढंगले दलका शीर्ष नेतालाई मतदान नगर्नेतर्फ संकेत गरे ।

किनभने शीर्ष नेताहरुको उमेर ६० भन्दा माथि छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई लक्षित गर्दै कुनै नेपाली सेलिब्रिटीको यस्तो अभिव्यक्ति आएको हो ।

दीपक लेख्छन्, ‘सबै फूल गुलाफ हुँदैनन् । सबै स्वतन्त्र बालेन हुँदैनन् । आफ्नो भोट खेर फाल्दिन । ६० कटेकालाई हाल्दै हाल्दिन ।’

पछिल्लो समय शीर्ष नेताहरुलाई लक्षित गर्दै ‘नो नट अगेन’ चलिरहेको र आइतबार युवाहरुको चर्चित फेसबुक समूह एमआरआरलाई निष्क्रिय तुल्याइएको सन्दर्भमा दीपकको यस्तो अभिव्यक्ति बाहिर आएको हो । कामको कुरा गर्दा दीपक ‘छक्कापञ्जा ४’को छायांकनलाई अन्तिम रुप दिने तयारीमा छन् ।