हल्दिबारी । हल्दिबारी वडा नं. ३ की सामाजिक अभियन्ता ईश्वरा तिवारी र खड्ग तिवारीले १० लाख रुपैयाँ मूल्यको एक कठ्ठा जग्गा बाल संस्कार केन्द्र सञ्चालनका लागि दान गरेका छन ।

तिवारी दम्पत्तिले सो जग्गा जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियान नेपाललाई दान गरेका हुन । जग्गादातालाई प्रतिष्ठानले एक कार्यक्रमबीच हल्दिबारीको पाराखोपीमा सम्मान गरेको छ । दाता परिवारलाई फुलमाला र अबिर लगाएर हल्दिबारी–३ का वडाध्यक्ष हरिप्रसाद ओली, अभियानका झापा अध्यक्ष शंकर भट्टराई र विश्व हिन्दू परिषद् झापाका अध्यक्ष होमनाथ ढुंगेलले सम्मान गरेका हुन ।

प्रतिष्ठानका अध्यक्ष भट्टराईले प्रदेशमै पहिलोपल्ट बाल संस्कार केन्द्रका लागि जग्गा प्राप्त भएको भन्दै खुशी व्यक्त गरे । प्रतिष्ठानले झापाका २५ स्थानमा हिन्दू धर्म, संस्कार र नैतिक शिक्षा प्रदान गर्ने बाल संस्कार केन्द्र सञ्चालन गर्दै आएको भट्टराईले जानकारी दिए ।

अभियन्त पं. सोमनाथ सुबेदीले बाल संस्कार केन्द्र ६४ जिल्लामा सञ्चालन भइरहेको बताए । समाजसेवी सत्येन्द्र कर्णले स्वागत गरेको कार्यक्रममा पिताम्बर बराल, शिवप्रसाद दाहाल, भरत मैनाली, खिनामाया खनाल, मित्रलाल ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।