हेटौंडा । डेंगु रोगको सङ्क्रमणबाट हेटौंडामा एक जनाको मृत्यु भएको छ । हेटौंडा–१२ पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको डेंगुको कारण मृत्यु भएको हो।तीनदिन अघि हेटौंडास्थित सञ्चो अस्पतालमा परीक्षण गराउने क्रममा उनलाई डेंगु सङ्क्रमण पुष्टि भएको थियो ।

डेंगु सङ्क्रमणपछि घरमै आराम गर्ने भनेर गएका प्रधान मंगलबार अस्पताल भर्ना भएका थिए । बुधवार थप उपचारका लागि भरतपुर गएका प्रधानको बिहीबार उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो । प्रधानलाई दोस्रो पटक डेंगु सङ्क्रमण पुष्टि भएको जानकारीमा आएको छ । राजनीतिसँगै समाजसेवामा क्रियाशील उनलाई डेंगुसँगै मधुमेह र उच्च रक्तचाप रहेको थियो ।

स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार तीन दिनअघि हेटौंडाको एक निजी अस्पतालमा जाँच गराउँदा डेंगी सङ्क्रमण पुष्टि भएको उनलाई थप उपचारका लागि बुधबार भरतपुरस्थित नयाँ मेडिकल कलेजमा लगिएको थियो । सूचना अधिकारी घिमिरेका अनुसार ती युवकको अस्पतालमा उपचारको क्रममा मृत्युभएको हो । चालु आवमा साउन १ गतेदेखि बिहीबारसम्ममा ९९ जनामा डेंगी सङ्क्रमण हुँदा एक जनाको मृत्यु छ ।

गत आर्थिक वर्षमा मकवानपुरमा पाँच हजार ८६४ जनामा डेंगी सङ्क्रमण पुष्टि हुँदा एक जनाको डेंगी रोगका कारण मृत्युभएको थियो । सूचना अधिकारी घिमिरेले पछिल्लो घटनाले डेंगी रोग नियन्त्रण एवं रोकथामका लागि सचेतना लगायतका कार्यक्रमलाई थप प्रभावकारी बनाउनु आवश्यक देखिएको बताए ।