हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघ,मकवानपुरद्वारा सञ्चालित टिएफ परियोजनाको शुक्रवार हेटौंडामा समीक्षात्मक बैठक भएको छ ।
बैठकमा सामुदायिक वन उपभोक्ता महासंघका कार्यक्रम संयोजक सुसन विक. र रुजन ओझाले परियोजना अन्तरगत हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका र मनहरी गाउँपालिकामा सञ्चालन गरिएका कार्यहरुको बारेमा जानकारी गराएका थिए ।
बैठकमा डिभिजन वन कार्यालय, मकवानपुरका प्रमुख शिव सापकोटाले परियाजनाले सामुदायिक वनको विकासमा महत्वपूर्ण सहयोग गरेको र निष्क्रिय रहेका सामुदायिक वन समूहलाई सक्रिय बनाउन सबैले सामुहिक प्रयास गर्नु पर्ने बताए ।
डिभिजन वन कार्यालय,राप्ती मनहरीका प्रमुख विष्णुप्रसाद आचार्यले बढी आम्दानी भएका सामुदायिक वनले कम आम्दानी हुने सामुदायिक वनलाई सहयोग गर्नु पर्ने बताए । मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मान कुमारी पाख्रिनले सामुदायिक वनमा महिलाको सहभागिता बढाई आयआर्जनमा ध्यान दिनु पर्ने बताइन ।
बकैया गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्रीले सामुदायिक वनमा पर्यापर्यटकीय क्षेत्रको समेत काम गर्नु पर्ने बताए । हेटाैडा–१० का वडा अध्यक्ष फुर्वा लामाले सामुदायिक वन समूहलाई स्वायत संस्थाको रुपमा विकास गराउनु पर्ने बताए ।
सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य रामहरि चौलागाईले वर्तमान वन ऐन र नियमावली सामुदायिक वनमैत्री बनाउनु पर्नेमा जेड दिए । सञ्चारकर्मी भीमसेन पौडेलले सामुदायिक वनमा सुसासन कायम गरि संस्थागत विकास गर्नु पर्ने बताए । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा भएको बैठकमा वनसँग सम्वन्धित ब्यक्तिहरुको सहभागिता थियो ।











प्रतिक्रिया दिनुहोस्