हेटौंडा । मनहरी गाउँपालिकाले वडा– वडामा पुगी स्त्री रोग सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन सुरु गरेको छ । माघ २८ गतेदेखि गाउँपालिकाले विभिन्न वडाहरुमा स्त्री रोग सम्बन्धी निशुल्क शिविर सञ्चालन गरेको हो । चालु आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममै महिलाहरुका लागि यौन तथा प्रजनन् स्वास्थ्य शिविर कार्यक्रम समावेस गरी सञ्चालन गरीएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले जानकारी दिए ।

मनहरी गाउँपालिकाको आयोजनामा सञ्चालित उक्त शिविरलाई नेपाल परिवार नियोजन संघ मकवानपुरले प्राविधिक सहयोग गरेको छ । पहिलो दिन आइतबार मनहरी गाउँपालिका वडा नं १ मा शिविर सञ्चालन भएको थियो । उक्त शिविरमा १ सय ३१ जना महिलाहरुले सेवा लिएका थिए ।

सोमबार वडा नं ३ मा शिविर सञ्चालन भएको थियो । हाँडीखोला स्वास्थ्य चौकिमा आयोजीत उक्त शिविरमा १ सय ४७ जना महिलाहरुले सेवा लिएका छन् । कार्यक्रममा बोल्दै वडाअध्यक्ष अनन्त प्रकाश अर्यालले आफ्नो वडाका नागरिकलाई स्वस्थ राख्ने सवालमा यस्ता कार्यक्रमहरुको महत्वपुर्ण भुमिका हुने बताए । आगामी दिनमा यस्ता शिविरका कार्यक्रमलाई नियमित रुपमा सञ्चालन गर्न पहल गर्ने उनको भनाई छ ।

यता गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले स्वास्थ्य जस्तो संवेदनशील विषयमा आफूले पहिलो प्राथमिकता दिएर अघि बढेको बताए । विपन्न नागरिकलाई निशुल्क स्वास्थ्य वबमा सँगै अति जटिल रोगीहरुलाई उपचारका लागि गाउँपालिकाले सहयोग गर्दै आएको उनको भनाई छ । आगामी दिनमा अशक्त र विपन्न नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने उनले प्रतिवद्धता व्यक्त गरे ।