हेटाैँडा । मकवानपुर प्रहरीले आइतबार विभिन्न मुद्दामा फरार ७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध, बैंकिङ कसुर, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी, ज्यानसम्बन्धी कसुरलगायतको मुद्दामा फरार रहेका सात जनालाई पक्राउ गरेको मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार लागूऔषध गाँजा र चरेस मुद्दामा फरार मनहरी गाउँपालिका–८ का ४४ वर्षीय हरिबहादुर नेपाली, वर्ष ४५ की मिरा गिरी र राक्सिराङ गाउँपालिका–५ का ३८ वर्षीय रामबहादुर प्रजालाई पक्राउ गरेको हो । जिल्ला अदालत मकवानपुरले विभिन्न मितिमा क्रमशः नेपालीलाई ४ महिना १७ दिन, गिरीलाई ५ महिना र प्रजालाई एक लाख रुपैयाँ जरिवानासहित ६ महिना कैद सजाय तोकेको थियो ।

उनका अनुसार प्रहरीले हेटौँडा उपमहानगरपालिका–५ का ४३ वर्षीया ललिता उप्रेतीलाई बैंकिङ कसुरमा, हेटौँडा–१२ का ५६ वर्षीय कुमार स्याङ्तानलाई आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दामा, हेटौँडा–८ का ५० वर्षीय रामकुमार उपाध्यायलाई ज्यानसम्बन्धी कसुरमा र हेटौँडा–५ का ४२ वर्षीय नवराज भनिने छविलाल पुडासैनीलाई चेक अनादर मुद्दामा पक्राउ गरेको हो ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार जिल्ला अदालत मकवानपुरले विभिन्न मुद्दामा क्रमशः उप्रेतीलाई १० वर्ष कैद, स्याङ्तानलाई ५ दिन कैद र एक हजार रुपैयाँ जरिवाना, उपाध्यायलाई ७ दिन कैद र दुई हजार रुपैयाँ जरिवाना र पुडासैनीलाई एक हजार रुपैयाँ जरिवाना तोकेको थियो । पक्राउ परेका उनीलाई आवश्यक अनुसन्धान तथा कारबाही गर्न जिल्ला अदालत मकवानपुरमा बुझाइएको छ ।