हेटाैँडा । मकवानपुरको भीमफेदीमा अनौपचारिक क्षेत्रका श्रमिकहरुको सामाजिक सुरक्षा योजना कार्यक्रमबाट ५२ जना श्रमिक प्रत्यक्ष रुपमा लाभान्वित बनेका छन् ।
२०८० माघ १३ गते नेपालमा नै पहिलो पटक योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु गरेको भीमफेदी गाउँपालिकामा चालु आर्थिक वर्ष २०८२/०८३ मा सामाजिक सुरक्षा कोषमा पालिकाभित्रका अनौपचारिक श्रेत्रका श्रमिक तथा महिला स्वास्थ्य स्वयंसेविका गरी ११७ श्रमिकलाई आवद्ध गरेसँगै उक्त पालिकाबाट कोषमा आवद्ध हुने श्रमिकको सङ्ख्या ३११ पुगेको छ ।
श्रमिकका लागि आवश्यक रकम कोषमा जम्मा गर्दै आएको गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठले जानकारी दिए। पालिकाले कोषमा आबद्ध अनौपचारिक क्षेत्रका श्रमिकहरुको केवाइसी अद्यावधिक गर्न गाउँपालिकाले सहजीकरण गर्दै आएको भन्दै उनले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका कामदारहरुका सन्ततिलाई छात्रवृत्ति सहायता उपलब्ध गराउन सहजीकरण गरिएको बताए।
कोषमा आवद्ध भएकामध्ये २६४ जनाले नियमित रुपमा रकम जम्मा गर्ने श्रमिकको सङ्ख्या २६४ जना रहेको छ ।
अनौपचारिक श्रेत्रका श्रमिकहरुको तर्फबाट हालसम्म ४२ लाख ५३ हजार एक सय रुपियाँ ९८ पैसा र गाउँपालिकाको तर्फबाट कोषमा थप गरिएको योगदान ३६ लाख ५० हजार ३६६ रुपियाँ ३९ पैसा पुगेको छ । गाउँपालिकाका अनुसार कोषमा ब्याजसहित ७९ लाख ३६ हजार ३५८ हजार रुपियाँ ३८ प्रसा जम्मा भएको छ ।
कोषमा आवद्ध भएका अनौपचारिक क्षेत्रका श्रमिकहरुले कोषबाट स्वास्थ्य उपचार र सुत्केरी भत्ताको सेवा सुविधा लिएको पाइएको छ ।
अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुको तर्फबाट गाउँपालिकाले नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ९.३७ प्रतिशत र सम्बन्धित श्रमिकको ११ प्रतिशत गरी २०.३७ प्रतिशत बराबरको रकम मासिक रुपमा कोषमा योगदान गर्नुपर्ने हुन्छ ।
यस्तै, पालिकाले चालु आवमा सूचीकृत भएका बेरोजगार व्यक्तिहरुलाई पालिकाको वडा १, ५ र ७ मा आयोजना सञ्चालन गरी रोजगारी उपलब्ध गराएको छ । गाेरखापत्रबाट












प्रतिक्रिया दिनुहोस्