हेटाैँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटरचालक मृत अवस्थामा फेला परेका छन् । बाढीले बगाएको स्कुटर भेटिएको एक दिनपछि चालकको शव घटनास्थलबाट करिब दुई सय  मिटर तल खोलाको बगरमा पुरिएको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले खोजीका क्रममा खोलामा करिब एक मिटर गहिराइमा बालुवाले पुरिएको अवस्थामा कार्कीको शव फेला पारेको हो । घटना असार २९ गते अपराह्न करिब ३ बजेतिर भएको थियो ।

अविरल वर्षासँगै सिमखोलामा आएको आकस्मिक बाढीले स्कुटरसहित चालकलाई बगाएको थियो । घटनालगत्तै सुरक्षा निकायको संयुक्त टोली परिचालन गरिए पनि खोलाको तीव्र बहाव, वर्षा र प्रतिकूल मौसमका कारण पहिलो दिन चालकको खोजी सफल हुन सकेको थिएन ।

मंगलबार बिहान खोजीका क्रममा बागमती प्रदेश ०२–०३२ प ८०५४ नम्बरको स्कुटर घटनास्थलबाट करिब दुई सय मिटर तल क्षतविक्षत अवस्थामा फेला परेको थियो । त्यसपछि खोजीलाई थप तीव्र बनाइएको थियो । प्रहरीले यातायात व्यवस्था कार्यालयको अभिलेखका आधारमा उक्त स्कुटर सर्लाही निवासी महेशकुमार कार्कीको नाममा दर्ता रहेको पुष्टि गरेको थियो।

शव फेला परेसँगै मृतक पनि महेशकुमार कार्की नै रहेको पुष्टि भएको मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) माधव काफ्लेले जानकारी दिए । उनका अनुसार घटनास्थलमा खोजीकार्यमा संलग्न रहेका कार्कीका परिवारले उनको पहिचान गरेका हुन् ।

प्रहरीका अनुसार बाढीले चालकलाई स्कुटरसहित बगाएपछि उनी खोलाको बहावसँगै तल पुगेका थिए । खोजीका क्रममा शव बालुवा र लेदोले पुरिएको अवस्थामा भेटिएको हो । शव फेला परेपछि आवश्यक मुचुल्का तथा पोस्टमार्टमका लागि अस्पताल पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।