हेटौँडा। नजिकिँदै गरेको बडादसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी बागमती प्रदेशको १० जिल्लाका ४६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिनेभएको छ । चाडपर्वको समयमा यात्रुको आवागमन बढ्ने भएकाले सहायता कक्ष स्थापना गरिने र दैनिक १२६ जना प्रहरी परिचालन गरिने भएको छ ।
काठमाडौँ, ललितपुर र भक्तपुरबाहेक बागमती प्रदेशको १० जिल्लामा चाडपर्व सुरक्षा योजना–२०८३ तयार गरी सुरक्षा व्यवस्था मिलाइएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । चाडपर्व लक्षित सुरक्षा व्यवस्थाका लागि प्रदेशको १० जिल्लामा चार हजार ४९९ जना प्रहरी परिचालन गरिने भएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मीले सोमबार हेटौँडामा आयोजित कार्यक्रममा चाडपर्व लक्षित सुरक्षा योजनाबारे जानकारी दिए। उनका अनुसार कार्यालय सुरक्षाका लागि एक हजार ४६५ जना प्रहरी परिचालन गरिनेछ ।
राजमार्गमा ट्राफिक प्रहरीसहित चेकिङ तथा अनुगमनका लागि ५८ वटा ड्युटीमा २११ जना प्रहरी परिचालन गरिने योजना रहेको छ । त्यसैगरी ३१ स्थानमा आकस्मिक चेकिङ गरिने र त्यसका लागि १३८ जना प्रहरी परिचालन गरिने भएको छ । बजार अनुगमनका लागि १९ वटा ड्युटी परिचालन गरिनेछ । चाडपर्वको अवसरमा आयोजना हुने खेलकुद तथा सांस्कृतिक कार्यक्रमको सुरक्षाका लागि समेत आवश्यक सङ्ख्यामा प्रहरी परिचालन गरिने जनाइएको छ ।
चाडपर्वको समयमा हुन सक्ने आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ । तिहारमा हुने आतसबाजी तथा पटका प्रयोगलाई नियन्त्रण गर्नसमेत आवश्यक तयारी गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सुरक्षा योजनाको कार्यान्वयन तथा अनुगमनका लागि बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा, नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा, बागमती प्रदेश प्रहरी गण हेटौँडा र नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटेबाट प्रहरी परिचालन तथा अनुगमन गरिनेछ । आवश्यकताअनुसार प्रदेशबाट थप प्रहरी टोलीसमेत परिचालन गरिने प्रहरी नायव महानिरीक्षक रेग्मीले जानकारी दिए ।












प्रतिक्रिया दिनुहोस्