हेटौंडा । बागमती प्रदेशमा समुदाय तहसम्म कोभिड–१९ विरुद्धको खोप अभियान पुर्याउने निर्णय भएको छ ।

कोभिड व्यवस्थापन प्रदेश निर्देशक समितिको बिहिबार बसेको पहिलो बैठकले समुदाय तहसम्म कोभिड–१९ विरुद्धको खोप अभियान पुर्याउने निर्णय गरेको हो । समितिका संयोजक मूख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले बागमती प्रदेशमा खोप लगाउने दर बढाउन समुदाय तहसम्म कोभिडविरुद्धको खोप अभियान पुर्याउन आवश्यकता अनुसार खोप केन्द्र विस्तार गर्ने निर्णय गरेको छ ।

‘कोभिड–१९ विरुद्धको खोप अभियानमा स्थानीय तहलाई पनि पहलकदमीका लागि अनुरोध गर्ने र त्यसका लागि ११९ स्थानीय तहका जनप्रतिनिधिसंग जुम मिटिङ गरिने भएको छ ।’–बैठक पछि स्वास्थ्य मन्त्री निमा लामाले भने । बागमती प्रदेशका कतिपय स्थानीय तहमा लक्ष्य भन्दा कम जनसंख्याले खोप लगाएको तथ्यांकले देखाएकाले खोप अभियानमा जनप्रतिनिधिको पहलकदमी आवश्यक देखिएको उनको भनाई छ । उनका अनुसार यातायातकर्मीलाई समेत लक्षित गरी बसपार्क र सार्वजनिक स्थलमा खोप अभियान संचालन गरिने भएको छ ।
कोरोना संक्रमण दर नियन्त्रण र रोकथामका लागि जनस्वास्थ्यका मापदण्डको कडाईका साथ पालना गर्ने/गराउने, २५ जना भन्दा बढि सहभागी भएर गरिने कार्यक्रममा रोक लगाउने, धार्मिकस्थलमा हुने नियमित पुजाबाहेकका गतिविधिलाई नियन्त्रण गर्ने, स्वास्थ्यकर्मीसहित कोरोनाविरुद्धको अभियानमा सक्रियहरुलाई प्रोत्साहनको काम गर्ने, फ्रन्टलाईनरहरुलाई प्राथमिकताका साथ कोभिडविरुद्धको अतिरिक्त खोप लगाउने व्यवस्था गर्ने निर्णय निर्देशक समितिले गरेको छ ।

बैठकले कोरोना संक्रमण नियन्त्रण, रोकथाम एवं उपचारका लागि नीजि क्षेत्रसहित सबै पक्षसंग सहकार्य गर्ने निर्णय गरेको छ ।