हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडाको मुख्य भागमा रहेको हेटौंडाको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालले नयाँ तवरले असुली धन्दा संचालन गरेको छ । नेपाल सरकारले निःशुल्क दिएको औषधि अस्पतालले सेवाग्रीसंग पैसा लिएर बेचेको फेला परेको हो ।

सरकारले निःशुल्क भनेको औषधि अस्पताल भित्र रहेको फार्मेसी मार्फत धमाधम पैसा लिएर सेवाग्राहीलाई बेच्ने काम भईरहेको छ । हेटौंडा अस्पतालको फार्मेसीबाट स्वासप्रश्वासका दिर्घरोगीले प्रयोग गर्ने औषधि आस्थालिन नामक औषधि पैसा लिएर धमाधम विक्री भईरहेको हो ।

निःशुल्क लेखिएको औषधिको अक्षरलाई मार्करले मेटेर हेटौंडा अस्पतालको फार्मेसीले धमाधम विक्री गरिरहेको छ । उनीहरुले २१० रुपैया लिएर सेवाग्राहीहरुलाई विक्री गरिरहेको हो । अस्पतालको फर्मेसीमा राखिएको निःशुल्क वितरण गर्नुपर्ने औषधिको अक्षरलाई मार्करले मेटेर सेवाग्राहीसंग पैसा लिएर विक्री वितरण भईरहेको छ ।

यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति भरत पराजुलीले नेपाल सरकारले निःशु्ल्क दिएको औषधि हेटौंडा अस्पतालको फार्मेसीले पैसा लिएर विक्री वितरण गरेको प्रति जिल्ला प्रशासन कार्यालय मकवानपुरको ध्यानाकर्षण गराएका छन । उनले एक प्रेस विज्ञप्ती जारी गर्दै सेवाग्राहीलाई ठग्ने उपर अनुगमन गरी कार्वाहीको माग गरेका हुन ।

यसैबीच, हेटौंडा अस्पतालको फार्मेसीले नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको औषधि शुल्क लिएर बिरामीलाई बिक्री गर्दैआएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर र अख्तियार अनुसन्धान आयोगको कार्यालय, हेटौंडामा उजुरी परेको छ ।

आस्थालिन लगायतका औषधिहरु औषधिको खालमा टिपेक्स लगाएर शुल्क लिँदैआएको पाइएपछि कारबाहीको माग गर्दै उजुरी परेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए। सरकारी निःशुल्क औषधि बिक्री गरेको आरोपमा हेटौंडा अस्पतालको फार्मेसीका कर्मचारी विकास लामालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

सहायक प्रजिअ शर्माले सरकारी निःशुल्क औषधि बिक्री गरेको सम्बन्धमा आवश्यक अनुसन्धान गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई पत्राचार गरिएको बताए ।