हेटौंडा । बागमती प्रदेशमा बाढी पहिरोको उच्च जोखिम रहेको छ । प्रदेश अन्र्तगतका १३ जिल्लामा ९७ हजारभन्दा बढी जनसंख्या प्रभावित हुन सक्ने प्रदेश सरकारले अनुमान गरेको हो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार बागमती प्रदेशमा जनसंख्या ६१ लाख १६ हजार ८ सय ६६ जनाले बसोबास गर्ने गरेको तथ्यांकमा देखिन्छ । प्रदेशमा बाढी तथा पहिरोबाट लगभग २२ हजार घरधुरी प्रभावित हुने अनुमान छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् पोर्टल अनुसार विगत १० बर्ष (२०६९ देखि २०७९) सम्मको तथ्याङ्कलाई विश्लेषण गर्दा प्रदेशमा घटने मनसुनजन्य विपद्हरु क्रमशः बाढी, पहिरो, भारी बर्षा र महामारी रहेका छन् ।

प्रदेशको स्थापना भएको ६ बर्षको अवधिमा विपद् व्यवस्थापनका लागि विपद् व्यवस्थापन ऐन २०७५, प्रदेश विपद् व्यवस्थापन नीति २०७६, प्रदेश विपद् व्यवस्थापन रणनीतिक कार्ययोजना (२०७६–२०८७) लगायतका विभिन्न कानूनहरु तर्जुमा भई कार्यान्वयनमा रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । मनसुनजन्य विपद्मा पूर्वतयारी तथा प्रतिकार्यसँग सम्बन्धित कार्य प्रभावकारी ढङ्गबाट गर्न प्रदेश सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८० पनि तयार गरी सकेको छ । बागमती प्रदेशमा मनसुनको कारणले हुनसक्ने धनजनको क्षतिलाई न्यूनीकरण गर्न अपनाउन पर्ने सावधानी, पूर्व तयारी र उद्धार सम्बन्धी प्रतिकार्यको योजना तयार गरिएको हो ।

प्रदेशमा विपद्बाट असर परेको वा पर्न सक्ने व्यक्तिको उद्दार र सम्पत्तिको संरक्षण, विपद्बाट पीडित व्यक्तिको तत्कालिन राहतका लागि अस्थायी शिविर खडा गर्ने, राहत वितरण लगायतका कार्य गर्न प्रदेश विपद् व्यवस्थापन ऐन, २०७५ ले तोकेअनुसार प्रदेश विपद् व्यवस्थापन कोषमा १९ करोड ९२ लाख ५० हजार रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । प्रदेशका ३ वटा गोदामघरबाट खोज उद्दार तथा राहत सामाग्रीहरु माग, उपलब्धता र आवश्यकताको आधारमा पठाउने व्यवस्था गरिएको मन्त्रालयले बताएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान अनुसार बागमती प्रदेशमा जेठ महिनाबाट सुरु भएको मनसुन असोज महिना सम्म रहन सक्ने उल्लेख छ । प्रदेशमा सरदर भन्दा कम बर्षाहुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ ।

दश बर्षमा ९६ जनाको मृत्यु
विगत १० बर्षको तथ्याङक अनुसार २४३ वटा बाढीका घटनाहरुमा ९६ जना मानिसको मृत्यु, ३९ जना घाइते र ५८ जना वेपत्ता भएको देखिन्छ भने सबैभन्दा बढी मानिसको मृत्यु २०७० सालमा भएको देखिन्छ । तथ्याङक अनुसार प्रदेशमा १० बर्षमा बाढीका कारण सबैभन्दा बढी क्षति २०७६ सालमा भएको थियो । बाढीबाट कुल एक अर्व तीन करोडको क्षति भएको अनुमान छ ।

२०७९ सालको मनसुन तथ्याङक अनुसार बागमती प्रदेशमा १३ वटा बाढीका घटनाहरु भएमा दुई जनाको मृत्यु भएको छ भने ९ घर पूर्ण क्षति हुँदा ९२ लाख ७३ हजार क्षति भएको थियो । २०७९ सालमा भएको बाढीको घटनाको तथ्याङ्क अनुसार यस्को प्रभाव असारदेखि कार्तिक सम्म हुने गरेको छ । जसमध्ये साउन महिनामा सबैभन्दा धेरै प्रभावित हुने गरेको तथ्याङ्क छ । बागमती प्रदेशमा गत बर्ष बाढीका घटना र क्षति भक्तपुर जिल्लामा सबैभन्दा बढी भएको र यसबाट ५७ लाख बराबरको क्षति भएको थियो । १३ जिल्ला मध्ये प्रदेशमा बाढीका कारण मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, काठमाडौं, रसुवा, काभ्रेपलान्चोक र रामेछाप प्रभावित हुने गरेको तथ्याङ्क छ ।

पहिरोको उच्च जोखिम
गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् पोर्टल अनुसार बागमती प्रदेशका जिल्लाहरु पहिरोको उच्च जोखिममा रहेका छन् । २०६९ देखि २०७९ सम्मको तथ्याङ्क विश्लेषण गर्दा प्रदेशभर ६०२ वटा पहिरोका घटना घटेकोमा तीनसय जनाको मृत्यु भएको छ भने विगत दश बर्षमा २०७७ सालमा पहिरोबाट सबैभन्दा बढी मानिसको मृत्यु भएको तथ्याङ्क छ । बागमती प्रदेश विपद् जोखिमको दृष्टिकोणले बहुप्रकोपीय उच्च जोखिममा रहेको छ । नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा सबैभन्दा बढी पहिरोका घट्ना भएकोमा नुवाकोट जिल्लामा सबैभन्दा बढी क्षति भएको थियो ।

गत आवमा एघारले ज्यान गुमाए
गत मनसुनमा बागमती प्रदेशमा ५१ वटा पहिरोका घटनामा ११ जना मानिसको मृत्यु, ८ जना घाईते भएका थिए । पहिरोका कारण आंशिक ७ र पूर्ण १६ घर क्षति हुँदा २५ लाख २० हजार बराबरको अनुमानित क्षति भएको तथ्याङ्क छ । तथ्याङ्क अनुसार काठमाडौंमा ४ जना, चितवन, दोलखामा तीन÷तीन जना र मकवानपुरमा १ जनाको मृत्यु भएको थियो ।

स्थानीयतहलाई एक करोड
मन्त्रालयले गत आवमा प्रदेशका १० जिल्लाका स्थानीयतहलाई विपद् व्यवस्थापन समिति मार्फत राहत वितरणका लागि एक करोड रुपियाँ पठाइएको शाखा अधिकृत रबिता कार्कीले जानकारी दिइन् । विपद्का लागि दोलखाको गौरीशंखर गाउँपालिका, रामेछापको गोकुलगंगा गाउँपालिका, सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, नुवाकोटको म्यागङ गाउँपालिका, रसुवाको नौकुण्ड गाउँपालिका, धादिङको त्रिपूरासुन्दरी गाउँपालिका, काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका, मकवानपुरको राक्सिराङ गाउँपालिका, सिन्धुलीको मरिण गाउँपालिका र चितवनको ईच्छाकामना गाउँपालिकामा दश लाखको दरले बजेट पठाइएको उनले जानकारी दिइन । चालु आवका लागि विपद् कोष सञ्चालन कार्यविधि २०८० को मस्यौदा आर्थिक मामिलामा सहमतिको लागि पठाईएको उनले बताइन् ।

अनिल पराजुली
थप जानकारी