हेटौंडा । लम्पी स्किन रोगको नियन्त्रण तथा रोकथामको लागि प्राविधिक र कृषकहरु बिच अन्तरक्रिया कार्यक्रम भएको छ । हेटौंडा–१६, हटिया चिसापानी, जनप्रिय उच्च मावि (प्राविधिक शिक्षालय) मा भएको कार्यक्रममा कृषक, विद्यार्थी, प्राविधिक र सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मकवानपुरको आर्थिक बर्ष २०८०÷८१ को बार्षिक स्विकृत कार्यक्रम अनुसार अन्तरक्रिया गरिएको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.शरण कुमार पाण्डेको प्रमुख आतिथ्यता तथा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख डा.बज्र किशोर ठाकुरको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा विज्ञ केन्द्रका डा.विमोचन पौडेलले जिल्लामा लम्पी स्किन सङ्क्रमितको संख्या, खोप कार्यक्रम, प्रभावित पशु, लक्ष्यण, बच्ने तरिका र किसानले अपनाउनुपर्ने सावधानिका बारेमा जानकारी गराएका थिए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर शरण कुमार पाण्डले लम्पी स्किन रोग नियन्त्रण गर्नुको कुनै विकल्प नरहेको बताए । बागमती प्रदेशले पहिलो पटक सरकारी निकायबाट भ्याक्सिन उपलब्ध गराएको बताउँदै उनले लम्पी स्किन रोग नियन्त्रणमा मन्त्रालयपूर्ण रुपमा लागेको स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाईले लम्पी स्निबाट थप क्षति रोक्न रोक्न खोप र उपचारलाई प्रभावकारी रुपमा अगाडि बढाउन आग्रह गरे । उनले महामारीको समयमा १०–५ बजाएर मात्रै जागिर खाने मात्रै नभई प्राविधिकहरु गोठ–गोठमै पुगेर किसानलाई सेवा दिनुपर्नेमा जोड दिए ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख डाक्टर बज्र किशोर ठाकुरले लम्पीका कारण जिल्लामा १३ हजार ९९१ पशु प्रभावित भएकोमा पाँचसय पशु मरिसकेका जानकारी दिए । रोग नियन्त्रण गर्न जिल्लाका दश स्थानीय तहमा उपलब्ध गराईएको सात हजार डोजमध्ये तीनहजार ९२५ डोज खोप लगाईएको बताए । सप्ताहव्यापी खोप अभियानपूर्व जिल्लामा २४ हजार ६०६ पशुलाई खोप लगाईएको थियो ।