हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ६ मा देखा परेको डेंगु रोग नियन्त्रण गर्न आईतवार चौघडामा हेटौंडा स्वास्थ्य चौकी चौघडाको आयोजनामा सरोकारवालाहरु विच अन्ततरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

हेटौंडा स्वास्थ्य चौकी, चौघडाका प्रमुख टीएन ढुङगेलले डेंगुबाट बच्ने उपायको बारेमा जानकारी गराएका थिए । लामखुट्टेको टोकाईबाट यो रोग लाग्ने हुँदा सरसफाईमा विशेष ध्यान दिनु पर्ने, लामखुट्टे बस्ने स्थानमा लाभ्रा नष्ट गर्नु पर्ने, लामखुट्टे टायर भएको स्थानमा बढी बस्ने भएकाले त्यस स्थानमा दैनिक सरसफाई गर्नु पर्ने, टोल टोलमा सफाई अभियान सञ्चालन गर्नु पर्ने, स्थानीय संघसंस्थाहरु परिचालन गर्नु पर्ने लगायतका विषयहरुमा प्रमुख ढुङगेलले सहजीकरण गरेका थिए ।

हेटौंडा–६ का वडा अध्यक्ष विष्णु दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, सरिता सापकोटा, मुना बिक., नेपलाी काँग्रेस हेटौडा–६ सभापति रामहरि तिमल्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति नवराज पौडेल,टोल विकास संस्था वडा समन्वय समिति अध्यक्ष बासुदेव खतिवडा, नवजीवन ज्योति क्लबका सचिव राजकुमार फुयाँल, सञ्चारकर्मी भीमसेन पौडेल, महिला स्वास्थ्य स्वयंसेविका लगायतको सहभागिता रहेको थियो ।

बैठकले वडामा रहेका टोल विकास संस्था, सामुदायिक वन समूह, दुग्ध सहकारी, बचत तथा ऋण सहकारी, स्थानीय संघसंस्था, आमा समूह, सञ्चारकर्मी, विद्यालय सम्मिलित बैठक राख्ने र त्यसपछि सबैको सल्लाह अनुसार डेंगु नियन्त्रणको प्रयास गर्ने निर्णय गरेको बैठकमा सहभागि वडा सदस्य लेखराज ढकालले बताए । हाल हेटौंडा–६ नं. वडामा २५ भन्दा बढी डेंगुका संक्रमित रहेको अनुमान गरिएको छ ।