हेटौँडा । चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा साहित्यकार तुल्सी थापाको ७८ वर्षको उमेरमा शुक्रवार बिहान निधन भएको छ । उहाँलाई निमोनिया, मधुमेह, रक्तचापसम्बन्धी समस्या थियो ।

साहित्यकार निमेष निखिलका अनुसार थापाको पार्थिव शरीर हेटौँडा ल्याएर अन्तिम संस्कार गर्ने तयारी परिवारले गरेको छ । मुटुसम्बन्धी समस्या भएका कारण पेस मेकर समेत जडान गरिएकोले पेस मेकर निकाल्न केही समय लाग्नेछ । शिक्षण पेशाबाट निवृत्त भएपछि थापाले साहित्य रचनामा विशेष योगदान दिएका छन ।

थापाको दाना कविता संग्रह “एक निमेष अनन्तको (२०५८)”, “अमर सिंहको खोजीमा अमर सिंह नाटक (२०६१)” र कथासंग्रह “फरक आकाश (२०७२)” प्रकाशित छन् । थापाले कविता विधामा नयाँ दाना कविताको सुरुवात समेत गरेका थिए । थापा भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानका पूर्व अध्यक्ष समेत हुन । थापाले गोरखा दक्षिण बाहु चौथो (२०४४), नारायणी वाङ्मय पुुरस्कार (२०५८) सहित विभिन्न सम्मान प्राप्त गरेका थिए ।