हेटौंडा । मकवानपुरको थाहा नगरपालिका–६ बज्रवराहीमा खोलामा डुबेर बालिकाको मृत्यु भएको छ । थाहा नगरपालिका–६ स्थित बाराही खोलामा डुबेर ६ वर्षीया बालिका युनिसा राईको मृत्यु भएको हो ।

ताप्लेजुङ घर भई बज्रवराहीमा लिफ्टिङ सिँचाइको काम गर्ने बावु विकास राई र आमा बालकुमारीसँग बस्दै आएकी युनिसा खेल्ने क्रममा बाराही खोलामा डुबेकी थिइन् । तत्कालै आमा बालकुमारीले छोरीलाई खोलाबाट उद्धार गरेर पालुङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याएकी थिइन् ।

उपचारको क्रममा आइतबार राति युनिसाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पालुङकी प्रहरी निरीक्षक रुक्सा बज्राचार्यले बताइन् ।

घटनास्थल इप्रका पालुङबाट १३ किलोमिटर पूर्वउत्तर पर्छ । मृतक बालिकाको शव पोष्टमार्टम गर्न काठमाडौं लगिएको छ । थाहा नगरपालिकाको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम नहुने भएकाले काठमाडौं लगिएको हो ।