हेटौँडा । केज प्रणालीमार्फत उत्पादन गरिएको माछा बिक्री गरिएको छ । मत्स्य विकास केन्द्र कुलेखानीले जेठको अन्तिमसाता कार्प जातका खाने माछा बिक्री वितरण गरेको हो ।

केन्द्रका सूचना अधिकारी अनिल भण्डारीका अनुसार केजमा उत्पादित ४५६ केजी माछा बिक्रीबाट एक लाख ४५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । बिक्री गरिएका माछामध्ये कमन कार्प ७ केजी, विगहेड कार्प ८० केजी र सिल्भर कार्प ३६९ केजी रहेको उनले जानकारी दिए । केन्द्रले कमन कार्प प्रतिकेजी ३०० रुपैयाँ तथा विगहेड र सिल्भर कार्प प्रतिकेजी २५० रुपैयाँका दरले बिक्री गरेको जनाएको छ । बिक्री गरिएका माछामध्ये एउटा माछाको तौल दुई केजीसम्म रहेको थियो भने एक जना ग्राहकले ३५ केजीसम्म माछा खरिद गरेका थिए ।

दैनिक ज्यालादारीमा कार्यरत छ जना कामदारले केजबाट माछा निकालेर डुङ्गामार्फत ताल किनारामा ल्याएका थिए। बिक्रीका क्रममा कुलेखानी हुँदै यात्रा गर्ने सर्वसाधारण, घुम्न आएका पर्यटक तथा स्थानीय बासिन्दाले माछा खरिद गरेका हुन् ।

चिसो हावापानीमा उत्पादन हुने भएकाले इन्द्रसरोवरमा उत्पादन हुने माछा प्रायः स्थानीय स्तरमै खपत हुने गरेको केन्द्रले जनाएको छ । केजमा पालिएको माछा वर्षमा दुई पटक निकालेर बिक्री गर्ने गरिएको छ । यसअघि पनि पुष–माघ महिनामा माछा बिक्री गरिएको थियो ।

माछा बिक्रीपछि पुनः केजमा माछाका भुरा हाल्ने गरिएको सूचना अधिकारी भण्डारीले बताए । उनका अनुसार केन्द्रसँग विभिन्न प्रकारका ६२ वटा केज रहेका छन् । केन्द्रले इन्द्रसरोवर तालमा केज प्रणाली तथा तिहारी जालमार्फत माछापालन गर्दै आएको छ । उत्पादित माछाको अधिकांश हिस्सा स्थानीय बजारमै खपत हुने गरेको छ ।