हेटौँडा ।  जेनजी आन्दोलनको क्रममा भीमफेदी कारागारबाट फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

गत भदौ २४ को राति भीमफेदी कारागारको पर्खाल फोडेर भागेका मकवानपुरको बागमती गाउँपालिका-५ का २५ वर्षीय शिशिर परियारलाई प्रहरीले हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट पक्राउ गरेको हो ।

मोटरसाइकल चोरी गरेको अभियोगमा अदालतले परियारलाई १ वर्ष ३ महिना कैद तोकेको थियो । उक्त कैद भुक्तानी गर्नका लागि परियार भीमफेदी कारागारको ‘क’ बल्कमा रहेका थिए । जेनजी आन्दोलनको क्रममा भीमफेदी कारागारबाट भागेकामध्ये शुक्रबार बिहानसम्म १२७ जना कैदीबन्दी अझै फरार छन् । तीमध्ये २६ जना भारतीय नागरिक छन् ।

भीमफेदी कारागारबाट भागेका ४४० जना कैदीबन्दीमध्ये सुरक्षाकर्मीले मकवानपुरका विभिन्न स्थानबाट ३ सय १३ जना जनालाई पक्राउ गरेको छ । कारागारको पर्खाल फोडेर ३९ जना भारतीय नागरिक फरार भएका थिए । तीमध्ये १३ जना कारागारमा आएको भीमफेदी कारागार प्रमुख सुवास पौडेलले बताए ।कारागारको तीनवटा गेट फुटाएर पश्चिमतर्फको पर्खाल भत्काएर (क) ब्लकबाट २६० र (ख) ब्लकबाट १८० गरी ४४० कैदीबन्दी फरार भएका थिए । जेलको पर्खाल फोडेर कैदीबन्दी भाग्न लाग्दा सुरक्षाकर्मीले चलाएको गोली लागेर तीन जना कैदी घाइते समेत भएका थिए ।