हेटाैँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा सोमबार एक स्कुटर चालक बाढीमा बेपत्ता भएका छन्। आकस्मिक आएको बाढीले स्कुटरसहित चालकलाई बगाएपछि सुरक्षा निकायले खोजी अभियान तीव्र बनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार अपराह्न करिब ३ बजेतिर कुलेखानी ड्यामनजिक रहेको सिमखोला तर्ने क्रममा स्कुटरसहित चालक बाढीमा बगेका हुन्। घटनाबारे स्थानीयबाट सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली घटनास्थलमा परिचालन गरिएको छ।
मकवानपुर प्रहरी प्रवक्ता डिएसपी माधव काफ्लेका अनुसार बेपत्ता भएका व्यक्तिको परिचय अझै खुल्न सकेको छैन। स्कुटरको नम्बर तथा चालक कहाँबाट कहाँ जाँदै थिए भन्ने विवरणसमेत यकिन हुन बाँकी रहेको उनले जानकारी दिए।
‘एकजनाले चलाएको स्कुटर बाढीले बगाएको भन्ने सूचना आएको छ। तर बेपत्ता भएका व्यक्ति को हुन्, स्कुटीको नम्बर के हो र कहाँ जाँदै थिए भन्ने विवरण अझै खुल्न सकेको छैन। खोजी कार्य जारी छ,’ उनले भने।
प्रारम्भिक सूचनाअनुसार बेपत्ता भएका व्यक्ति पुरुष हुन्। घटनापछि सुरक्षाकर्मीसँगै स्थानीय बासिन्दाले पनि खोलाको विभिन्न क्षेत्रमा खोजी गरिरहेका छन्। तीव्र बहावका कारण उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको जनाइएको छ।
लगातारको वर्षाले मकवानपुरका अधिकांश खोलानालामा पानीको बहाव बढेको छ। मौसमविद्हरूले अझै केही दिन भारी वर्षाको सम्भावना रहेकाले नदी तथा खोलानाला तर्ने प्रयास नगर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।












प्रतिक्रिया दिनुहोस्