हेटौँडा । हेटौँडा–४ मा रहेको भुटनदेवी माध्यामिक विद्यालय (प्राविधिक शिक्षालय) को शनिवार हेटौँडामा ५८ औँ अभिभावक भेला सम्पन्न भएको छ । हेटौँडा उपमहानगरपालिका ४ नं. वडाध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलको अध्यक्षता तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भेला भएको हो ।
भेलामा विद्यालयको वर्तमान अवस्था, शैक्षिक गतिविधि र विकास योजनाबारे छलफल गरिएको बालकृष्ण दाहालले जानकारी दिए । विद्यालयका अनुसार ‘मेगा विद्यालय पूर्वाधार विकास कार्यक्रम’ अन्तर्गत १२ कोठे भवन निर्माणका लागि हेटौँडा उपमहानगरपालिकासँगको लागत साझेदारीमा ३ करोड रुपैयाँको ठेक्का आह्वान भइसकेको छ । भवन निर्माणको काम छिट्टै सुरु हुने जनाइएको छ ।
त्यस्तै, बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३-०८४ मा मेगा विद्यालय पूर्वाधार विकासका लागि ३० लाख रुपैयाँ र ‘भुटनदेवी आईटी पार्क’ निर्माणका लागि २ करोड रुपैयाँ विनियोजन गरेको विद्यालयले जनाएको छ । विद्यालयमा यसअघि चमेना गृह, किड्स जोन र स्टाफ रुम निर्माण भइसकेका छन् । आरओ प्रणालीमार्फत शुद्ध खानेपानीको व्यवस्था गरिएको छ भने हेटौँडा–४ वडा कार्यालय, बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र विद्यालयको संयुक्त लगानीमा प्राविधिक भवनको पहिलो तला निर्माण सम्पन्न भएको प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेले जानकारी दिए ।
उनका अनुसार हेटौँडा–४ बाट १५ लाख, प्रदेश सरकारबाट ६५ लाख र विद्यालयबाट करिब ५५ लाख रुपैयाँको लगानीमा प्राविधिक भवन निर्माण गरिएको हो । विद्यालय परिसरमा इन्टरलक बिछ्याउने, ढल तथा बगैँचा निर्माण, शौचालय, रंगरोगन र गेट स्तरीकरणलगायतका काम पनि अघि बढिरहेका छन् ।
भेलालाई सम्बोधन गर्दै पूर्वमुख्यमन्त्री पौडेलले भुटनदेवी विद्यालयलाई लामो इतिहास बोकेको शैक्षिक संस्थाका रूपमा उल्लेख गरे । उनले विद्यार्थीको शैक्षिक सफलतामा विद्यालय र शिक्षकसँगै अभिभावकको भूमिका पनि महत्वपूर्ण हुने बताए । उच्च जीपीएलाई मात्र विद्यार्थीको सफलताको आधार बनाउन नहुने भन्दै पौडेलले संस्कार, अनुशासन र नैतिक शिक्षालाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिए। सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास बढाउन आवश्यक रहेको उनको भनाइ थियो ।
विद्यालयले शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिसकेको जनाएको छ । कार्यक्रममा हेटौँडा–१० का अध्यक्ष फुर्वादोर्जे लामा, नेकपा (एमाले) हेटौँडा–४ का पूर्वअध्यक्ष जगन्नाथ बास्ताकोटीलगायतको उपस्थिति थियो ।











प्रतिक्रिया दिनुहोस्