हेटौँडा । धार्मिक, ऐतिहासिक, सामरिक तथा सांस्कृतिक दृष्टिकोणले निकै महत्वपूर्ण रहेको ढुङ्गे गढीमा ‘ढुङ्गे धारा’ निर्माण गरिएको छ । मकवानपुरको ऐतिहासिक तथा पर्यटकीय गन्तव्य मकवानपुरगढी गाउँपालिका वडा नं. २ स्थित ढुङ्गे गढीमा खानेपानीको समस्या समाधानका लागि ‘ढुङ्गे धारा’ निर्माण गरिएको हो । मध्यपृतना हेडक्वार्टर सुपारेटार ब्यारेक अन्तर्गतको गोरख बहादुर गणले उक्त आकर्षक ढुङ्गे धारा निर्माण गरेको हो ।
मकवानपुरगढी–२ का वडा अध्यक्ष बखान सिंह पाख्रिनका अनुसार नेपाली सेनाले तीन वटा ढुङ्गे धारा निर्माण सम्पन्न गरिसकेको छ । ती धाराहरु हाल परीक्षणका क्रममा रहेको र निर्माणको कार्य सबै सम्पन्न भइसकेको जानकारी दिए । गोरख बहादुर गणले यही वैशाख अन्तिम सातासम्ममा उक्त धारा हस्तान्तरण गर्ने कार्यक्रम तय भएको र त्यसपछि पर्यटक र स्थानीयले यसको पूर्ण उपभोग गर्न पाउने उनको भनाई छ ।
नेपाली सेनाले निर्माण गरेको ढुङ्गे धाराबाट पानी पुर्याउन मकवानपुरगढी गाउँपालिकाले लगानी गरेको छ । गाउँपालिकाले वडा नं. ७ मा रहेको ‘ढुङ्गे पानी’ मुहानबाट पाइप विस्तार गरी गढीसम्म पानी ल्याएको हो । समुद्री सतहबाट करिब १३०० मिटरको उचाइमा रहेको ढुङ्गे गढीमा पानीको ठूलो समस्या थियो, जुन अब समाधान हुने वडाध्यक्ष पाख्रिनको विश्वास छ ।
विशाल ढुङ्गाको चट्टानमाथि मानव बस्ती रहेकाले यसको नाम ‘ढुङ्गे गढी’ रहन गएको स्थानीय जनश्रुति छ । यहाँ प्राचीन रानी खोपी (सेनकालीन रानी रजस्वला हुँदा बस्ने ठाउँ) र पुरानो कुवा अझै सुरक्षित छन् । धार्मिक दृष्टिकोणले पनि यहाँ कालिका माई र शिव मन्दिर निर्माण गरिएका छन् ।
३९०० वर्ग मिटर परिधि २५४ मिटर क्षेत्रफलमा यो गढी फैलिएको छ । यहाँबाट सूर्योदय र सूर्यास्त हेर्दा एकदमै मनोरम देखिन्छ साथै पर्यटकहरुको मनोरजनको लागि प्याराग्लाईडिङको सम्भाव्यता अध्ययन समेत भएको थियो । यहाँबाट मौसम सफा भएको समयमा भारतीय भूमिको विहार सम्म अवलोकन गर्न सकिने खोजकर्ता केदारप्रसाद न्यौपानेको भनाई छ । यहाँ बाँस र गुराँस फुल्ने समयमा वरिपरि रङ्गीचङ्गी देख्न सकिन्छ ।
ढुङ्गे गढी मुल गढी अर्थात मकवानपुर गढीबाट ४ किमी उत्तर पूर्वमा अवस्थित छ । बागमती प्रदेशको राजधानी हेटौँडा बजारबाट १९ किलोमिटर उत्तर–पूर्वमा रहेको यो स्थान गर्मी छल्नका लागि पर्यटकको उपयुक्त गन्तव्य समेत बन्दै गएको छ । हेटौँडा–काठमाडौँ सडक खण्डको कान्ति लोकपथ सँगै जोडिएको यो गढीबाट मनोरम दृश्य समेत अवलोकन गर्न सकिन्छ । उचाईमा रहेकोले यहाँको हावापानी वर्ष भरि नै चिसो रहन्छ । हेटौँडा लगायत तराई तथा भित्री मधेशको अत्यधिक गर्मीबाट अत्तालिएका मानिसहरु यस ठाउँमा जाँदा स्वर्गीय आनन्द महसुस गर्ने गरेकाले प्रस्तावित रुपमा यो पार्कको नाम ढुङ्गे गढी आनन्द पार्क राखिएको छ ।












प्रतिक्रिया दिनुहोस्