हेटौँडा । क्यान्सर रोग न्यूनीकरण तथा सुरक्षित कृषि अभ्यास प्रवद्र्धन गर्ने उद्देश्यले हेटौँडा–६ मा विषादी रहित बाली उत्पादन सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । नेपाल अर्बुद रोग निवारण संस्था मकवानपुर शाखाको आयोजना, हेटौँडा उपमहानगरपालिकाको सहकार्य तथा गरीबी निवारण बचत तथा ऋण सहकारी संस्थाको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि हेटौँडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालले स्थानीय स्तरमा अत्यधिक तथा असुरक्षित रूपमा विषादी प्रयोग भइरहेको उल्लेख गर्दै सकेसम्म रासायनिक विषादीको सट्टा जैविक विषादी प्रयोग गर्न आग्रह गरे । रासायनिक विषादी प्रयोग गर्नै परे सुरक्षित विधि अपनाउनुपर्नेमा जोड दिँदै उनले क्यान्सरजस्ता घातक रोगबाट बच्न यस्ता सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने बताए ।

नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय उपमहासचिव प्रकाश खतिवडाले क्यान्सर रोगको बढ्दो अवस्था, विषादी प्रयोगबाट हुने जोखिम, रोगका लक्षण तथा बच्ने उपायबारे जानकारी दिए । उनले सन् २०२० को अध्ययनअनुसार सुर्तिजन्य पदार्थबाट राज्यले १८ अर्ब रुपैयाँ राजस्व संकलन गरेको भए पनि त्यसबाट उत्पन्न रोगहरूको उपचारमा ४० अर्ब रुपैयाँभन्दा बढी खर्च भएको तथ्य प्रस्तुत गर्दै सुर्तिजन्य पदार्थमा करको दायरा विस्तार गर्न सरकारसँग आग्रह गरे ।

संस्थाका मकवानपुर शाखा अध्यक्ष माधव अधिकारीले क्यान्सर सम्बन्धी जनचेतना अभिवृद्धि गर्दै विषादीको असुरक्षित प्रयोगका कारण जोखिममा परेका नागरिकलाई सुसूचित गराउनु संस्थाको उद्देश्य रहेको बताए । उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने हेटौँडा उपमहानगरपालिका र गरीबी निवारण बचत तथा ऋण सहकारी संस्थाप्रति आभार व्यक्त गरे ।

संस्थाका शाखा सचिव जयप्रकाश घिमिरेले स्वस्थ खाना, विषादी रहित बाली र स्वस्थ जीवनशैली क्यान्सरबाट बच्ने प्रभावकारी उपाय भएको बताए । सदस्य मानबहादुर लामाले समुदायस्तरमा विषादीको उचित प्रयोग तथा जैविक विकल्पबारे चेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रममा कृषि प्राविधिक गणेश खड्काले विषादीका प्रकार, सुरक्षित प्रयोग विधि, विषादी न्यूनीकरणका उपाय, सुरक्षित कृषि अभ्यास तथा व्यक्तिगत सुरक्षासम्बन्धी विषयमा सहजीकरण गरेका थिए ।

सहभागीहरूको तर्फबाट मनोज खड्का र अनुराधा उप्रेतीलगायतले असुरक्षित रूपमा भइरहेको विषादी प्रयोगबारे आफूहरू सचेत भएको बताउँदै आगामी दिनमा जैविक विषादी प्रयोगलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए । उनीहरूले स्थानीय सरकारले विषादी प्रयोग गर्दा आवश्यक सुरक्षा सामग्री उपलब्ध गराउन, जैविक विषादी उत्पादनका लागि आवश्यक वातावरण तथा सामग्री व्यवस्थापन गर्न पहल गर्नुपर्ने मागसमेत राखे ।

कार्यक्रममा गरीबी निवारण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटा, संस्थापक अध्यक्ष शिवप्रसाद खनाल, सचिव शरद श्रेष्ठ, नेपाल अर्बुद रोग निवारण संस्था मकवानपुर शाखाका कोषाध्यक्ष लक्ष्मण महत तथा सदस्यहरू जानकी गिरी, जुना मल्ल श्रेष्ठ, सृजना गिरीलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा सहकारीका सदस्य, कृषक तथा विषादी व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।