हेटौँडा । हेटौँडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो सेवा क्षेत्रभित्र रहेका स्वास्थ्य चौकी तथा मन्दिरलाई सहयोग गरेको छ ।
समूहले हेटौँडा स्वास्थ्य चौकी, हेटौँडा–६ चौघडा, सहिद रुद्र पाख्रिन सामुदायिक स्वास्थ्य चौकी, गढी–४ कालीखोला तथा मक्राञ्चुली सामुदायिक स्वास्थ्य इकाइ, गढी–३ मक्राञ्चुलीलाई दुई/दुई थान थर्मामिटर, एक/एक थान रक्तचाप (प्रेसर) जाँच्ने मेसिन तथा एक/एक थान तौल मापन गर्ने मेसिन वितरण गरेको थियो । त्यसैगरी, हेटौँडा–६ दिव्यनगरस्थित संसारीदेवी माई मन्दिरलाई पूजा सामग्रीसमेत वितरण गरिएको थियो । समूहले चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार उक्त सहयोग गरिएको जनाएको छ ।
हेटौँडा–६ का कार्यवाहक वडा अध्यक्ष विजय पौडेलको प्रमुख आतिथ्यता तथा समूहकी सचिव अमुना सापकोटाको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईं, सल्लाहकार अर्जुनप्रसाद चौलागाईं, हेटौँडा स्वास्थ्य चौकीका प्रमुख टी.एन. ढुङ्गेल, सहिद रुद्र पाख्रिन स्मृति स्वास्थ्य चौकीका प्रमुख लक्ष्मण दाहाल, मक्राञ्चुली सामुदायिक स्वास्थ्य इकाइका प्रमुख नारायणप्रसाद घोरसैनी, सुनौलो महिला समूहकी अध्यक्ष पवित्रा रुम्बा, समूहकी कोषाध्यक्ष गोमा लामिछाने, सदस्य पूर्णभद्र चौलागाईं तथा कार्यसमिति, लेखा समिति, सल्लाहकार, उपभोक्ता, कर्मचारी र सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्