हेटौंडा । औषधि व्यवसायलाई कानुनी दायराभित्र ल्याउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले छलफलपछि अनुगमन र कारबाही प्रक्रियाअघि बढाएको छ ।
जिल्लाभित्र सञ्चालनमा रहेका औषधि व्यवसायीहरूसँग छलफलपछि प्रशासनले कानुनविपरीत सञ्चालनमा रहेका, दर्ता तथा नवीकरण नगरेका र मापदण्ड पालना नगरेका औषधि पसलमाथि कडाइ गर्ने जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको अध्यक्षतामा बुधबार जिल्ला प्रशासन कार्यालयमा औषधि ऐन, नियमावली र कार्यविधिको पालना, दर्ता तथा नवीकरण, उपभोक्ताको अधिकार र औषधि व्यवसायको जिम्मेवारीका विषयमा छलफल गरिएको थियो । छलफलमा प्रजिअ अधिकारीले औषधि व्यवसाय नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले यसलाई सामान्य व्यापारका रुपमा मात्र हेर्न नहुने बताए ।
मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिकाको फापरबारीस्थित कन्सर्न मेडिकललाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । अनुगमनका क्रममा फार्मेसी सञ्चालनमा आवश्यक मापदण्ड पालना नभएको पाइएपछि कारबाही गरिएको जिल्ला प्रशासनले जनाएको छ । टोलीले औषधि पसल, होटल तथा खाद्य व्यवसायमा सरसफाइ, भण्डारण, सेवा प्रवाह र कानुनी मापदण्डको अवस्थाबारे अनुगमन गरेको थियो ।
यसअघि जिल्ला प्रशासनले नवीकरण नभएका ४० भन्दा बढी औषधि पसल बन्द गर्न निर्देशन दिएको थियो । औषधि व्यवस्था विभागले गत जेठ २८ सम्म नवीकरण नगरेका देशभरका पाँच हजारभन्दा बढी औषधि पसलको सञ्चालन प्रमाणपत्र रद्द गरेको सूचना जारी गरेपछि मकवानपुरका फार्मेसी, भेट फर्मा तथा आयुर्वेद फर्मा पनि दर्ता खारेजीको सूचीमा परेका थिए । त्यसपछि प्रशासनले त्यस्ता पसललाई कारोबार बन्द गर्न निर्देशन दिएको थियो ।
औषधिको बिक्री–वितरणमा इजाजतप्राप्त व्यक्ति, औषधिको स्रोत, म्याद, मूल्य, बिलबिजक, भण्डारण अवस्था र उपभोक्तालाई दिइने सेवाको विषयमा समेत अनुगमन गरिएको प्रशासनले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्