हेटाैँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रहरी समायोजन नहुँदा प्रदेशको शान्तिसुरक्षा व्यवस्थापनमा व्यावहारिक कठिनाइ भएको बताएका छन्। ७१औँ प्रहरी दिवसका अवसरमा मुख्यमन्त्री थापाले संघीय सरकार र सम्बन्धित निकायलाई समन्वय तथा संवादमार्फत समायोजन प्रक्रिया शीघ्र टुंग्याउन आग्रह गरे।
संविधानले प्रदेशलाई दिएको अधिकार र जिम्मेवारी प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रहरी समायोजन आवश्यक रहेको थापाको भनाइ छ। प्रक्रिया टुंगिन नसक्दा प्रहरी परिचालन, जनशक्ति व्यवस्थापन र सेवा प्रवाहमा प्रदेश सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न कठिनाइ भोग्नुपरेको उनले बताए।
‘प्रहरी समायोजनको प्रक्रिया समयमै टुंगाेमा पुग्न नसक्दा संविधानले परिकल्पना गरेको संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनमा समेत चुनौती उत्पन्न भएको छ,’ उनले भने।
प्रदेशको भौगोलिक अवस्था, स्थानीय आवश्यकता र सुरक्षा चुनौतीलाई नजिकबाट बुझ्ने प्रदेश सरकारलाई प्रहरी प्रशासनमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।
समायोजनले शान्तिसुरक्षा व्यवस्थापनसँगै प्रहरी कर्मचारीको वृत्ति विकास, जनशक्ति परिचालन र नागरिकलाई दिइने सेवामा सकारात्मक परिणाम ल्याउने उनको विश्वास छ। मुख्यमन्त्री थापाले प्रहरीलाई आवश्यक स्रोतसाधन, प्रविधि र तालिम उपलब्ध गराउने विषय प्राथमिकतामा राख्नुपर्ने बताए। आधुनिक अनुसन्धान प्रणालीको विकास, विपत् प्रतिकार्यका लागि सिप तथा उपकरण र नागरिकमैत्री सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।
अपराध नियन्त्रणमा समुदायसँगको सहकार्य बढाउन, विद्यालय तथा समुदायमा सचेतना फैलाउन र महिला तथा बालबालिकाको सुरक्षामा संवेदनशील बन्न पनि उनले आग्रह गरे। प्रविधिमा आधारित अपराध अनुसन्धानलाई अझ प्रभावकारी बनाउनुपर्नेमा उनको जोड छ।
प्रदेश सरकारले स्थापनाकालदेखि प्रदेश प्रहरी कार्यालयसहित विभिन्न भवन र पूर्वाधार निर्माण तथा सवारीसाधन उपलब्ध गराउन सहयोग गर्दै आएको थापाले बताए। प्रहरीलाई सक्षम, आधुनिक, व्यावसायिक र उत्तरदायी बनाउन थप समन्वय तथा सहकार्य गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
कर्तव्य निर्वाहका क्रममा जीवन गुमाएका प्रहरीको योगदान स्मरण गर्दै थापाले घाइते, अशक्त तथा सेवानिवृत्त प्रहरी कर्मचारीको सम्मान र कल्याणमा ध्यान दिनु राज्यको जिम्मेवारी भएको बताए।
अमर प्रहरीका परिवारलाई सम्मान
७१औँ प्रहरी दिवसका अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको प्राङ्गणमा आयोजित कार्यक्रममा अमर प्रहरीका परिवारजनलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष तथा कान्तिपुर दैनिकका पत्रकार प्रताप विष्टलाई सम्मान गरिएको थियो । कार्यक्रममा राम्रो काम गर्ने प्रहरी उच्च अधिकृतहरु लगायतकालाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, नेपाल पत्रकार महासंघ बामगमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर लगायतकाको आतिथ्यता रहेको थियो । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको हो । लगायत प्रहरी अधिकृत, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, अमर प्रहरीका परिवारजन तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो।

















प्रतिक्रिया दिनुहोस्