हेटौँडा । मकवानपुर निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य प्रकाश गौतमको सचिवालयले हेटौँडा तथा समग्र मकवानपुरको बृहत्तर विकासका लागि आवश्यक पूर्वाधार निर्माण र दीर्घकालीन समस्या समाधान गर्न प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालको ध्यानाकर्षण गराएको छ । सांसद गौतमका सचिवालय प्रमुख किशोर अर्यालले सडक विस्तार, वैकल्पिक बाइपास र हेटौँडा–काठमाडौँ सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा राख्न माग गर्दै लिखित ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
ध्यानाकर्षण पत्रमा रातोमाटे–राप्ती पुलसम्मको पूर्व–पश्चिम राजमार्ग सडकखण्डको समस्या समाधान गरी वैकल्पिक बाइपास निर्माण वा २५ मिटर सडक बिस्तारको समस्या समाधान गर्न माग गरिएको छ । २०३२÷३३ सालदेखि विवादमा रहेको उक्त सडकखण्ड विस्तार हुन नसक्दा साँघुरो सडक र अत्यधिक सवारी चापका कारण दुर्घटनाको जोखिम बढेको पत्रमा उल्लेख छ । उक्त क्षेत्रमा वार्षिक करिब ६० जनाले ज्यान गुमाउने गरेको दाबीसमेत गरिएको छ ।
त्यस्तै, हेटौँडा–काठमाडौँ सडक साँघुरो र जोखिमपूर्ण घुम्तीले भरिएको भन्दै सुरक्षित वैकल्पिक मार्गका रूपमा सुरुङमार्ग निर्माण गर्न माग गरिएको छ । केही दिनअघि भीमफेदी गाउँपालिका–६ चिसापानी क्षेत्रमा भएको दुर्घटनामा १४ जनाको ज्यान गएको घटनालाई स्मरण गराउँदै सुरुङमार्ग निर्माणलाई दीर्घकालीन विकल्पका रूपमा अघि बढाउनुपर्ने पत्रमा उल्लेख छ ।
सुरुङमार्ग निर्माणका लागि नेपाल पूर्वाधार कम्पनी लिमिटेडले सर्वसाधारणबाट सङ्कलन गरेको करिब ३२ करोड रुपियाँको अवस्था, खर्च र लगानीबारे निष्पक्ष छानबिन गर्न पनि माग गरिएको छ । कम्पनीका सञ्चालक तथा जिम्मेवार पदाधिकारीको जवाफदेहिता सुनिश्चित गर्न र आयोजनाको प्राविधिक, आर्थिक तथा कानुनी अवस्थाको पुनरावलोकन गर्न ध्यानाकर्षण गराइएको छ ।
आवश्यक कानुनी प्रक्रिया पूरा गरी राज्य आफैँले वा सक्षम अन्य कम्पनीमार्फत आयोजना अघि बढाउन तथा सुरुङमार्गलाई राष्ट्रिय प्राथमिकताको आयोजनाका रूपमा राखेर समयबद्ध निर्माण सुनिश्चित गर्न पनि सभामुखसमक्ष आग्रह गरिएको छ ।
यसैगरी, राममणि न्यौपानेले हेटौँडा उपमहानगरपालिकाका १२, १३ र १४ नम्बर वडा तथा मनहरी गाउँपालिकाका सबै नौ वडाका नागरिक राष्ट्रिय निकुञ्जसम्बन्धी समस्याबाट प्रभावित रहेको जानकारी सभामुखलाई गराए। उनले निकुञ्जको सिमाना बस्तीभन्दा बाहिर कायम गर्नुपर्ने माग राख्दै पटक–पटक सदनमा विषय उठे पनि समस्या सम्बोधन हुन नसकेको बताए।
हेटौँडा औद्योगिक, व्यापारिक, शैक्षिक तथा प्रशासनिक सम्भावना बोकेको सहर भए पनि पूर्वाधारको अभाव र लामो समयदेखि समाधान हुन नसकेका समस्याका कारण अपेक्षित विकास हुन नसकेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । सम्बन्धित मन्त्रालय तथा निकायमार्फत विकासका प्रस्ताव अघि बढाउन, आवश्यक समन्वय र निर्देशन दिन तथा हेटौँडाको बृहत्तर विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सभामुखसमक्ष अनुरोध गरिएको सचिवालयले जनाएको छ ।
सभामुख अर्यालले वन ऐनसहित १६६ वटा कानून निर्माण गर्ने घोषणा सरकारले गरिसकेको जानकारी दिँदै यसका लागि निरन्तर काम भइरहेको बताए । चालु वर्ष सदन छिट्टै आह्वान गर्ने तयारी भइरहेको उल्लेख गर्दै उनले यस विषयमा प्रधानमन्त्रीसँग पनि संवाद गरेको जानकारी दिए ।
संसदीय समितिका सभापति र सचिवलाई बोलाएर ठूला विधेयक ९० दिनभित्र र अन्य विधेयक ३० दिनभित्र टुङ्ग्याउने गरी काम गर्न निर्देशन दिएको उनले बताए । कानून निर्माण गर्दा नागरिकको आवश्यकताका आधारमा सांसदहरूको सहभागिता बढाउने र सबै पक्षको छलफलबाट बनेको कानून दीर्घकालीन रूपमा प्रभावकारी हुने उनको भनाइ छ ।
मकवानपुरमा देखिएको वन्यजन्तुसम्बन्धी समस्या जिल्लाको मात्र नभई बृहत् विषय भएको उल्लेख गर्दै सभामुख अर्यालले यो विषय वन ऐनसँग सम्बन्धित रहेकाले ऐन निर्माणका क्रममा विशेष ध्यान दिने प्रतिबद्धता जनाए । नेपालको नागरिक र भौगोलिक अवस्थालाई सुहाउने कानून निर्माण गरिने उनले बताए । उनले सडक दुर्घटना न्यूनीकरणलाई पनि अबको अभियान बनाउनुपर्नेमा जोड दिए ।



















प्रतिक्रिया दिनुहोस्