Ai Image

हेटौँडा। नेपालका नदी तथा खोलानालामाथि भइरहेको अतिक्रमण, दोहन र प्रदूषणविरुद्ध एकजुट हुन डिभिजन वन कार्यालय चितवनका डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले आह्वान गरेका छन् ।

नदी तथा खोलानालाको संरक्षणका विषयमा पर्याप्त चर्चा र चासो हुन नसकेको उल्लेख गर्दै उनले प्राकृतिक स्रोतहरूमध्ये सबैभन्दा बढी दोहन र प्रदूषण नदीले भोग्नुपरेको बताए ।

नेपालका अधिकांश नदी अतिक्रमणको चपेटामा परेको भन्दै उनले प्राकृतिक स्रोतहरूमध्ये सबैभन्दा बढी ज्यादती र प्रदूषण नदीमाथि भएको बताए।

नदी मानव सभ्यताको इतिहास, संस्कृति र परम्परासँग जोडिएको महत्वपूर्ण प्राकृतिक सम्पदा भएको उनको भनाइ छ । मानव सभ्यताको विकासदेखि वैदिक परम्परासम्म नदीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले नदी संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

ढुङ्गा, गिट्टी र बालुवा उत्खनन, नदी अतिक्रमण, रासायनिक पदार्थ मिसिएको पानी तथा व्यक्तिगत फोहर नदीमा मिसाउने कार्य रोक्नुपर्ने उनले बताए । धर्म र संस्कृति संरक्षणका नाममा समेत नदीमा फोहर गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ छ ।

नदीलाई पहिलेको स्वच्छ अवस्थामा फर्काउन देशभरका नदी संरक्षणकर्मी र अभियन्ता एकजुट हुनुपर्ने उनले बताए । यसका लागि चाँडै चितवनमा देशभरका नदी संरक्षण अभियन्ताहरूको राष्ट्रिय भेला आयोजना गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

उक्त भेलामा देशभर नदी संरक्षणका क्रममा अभियन्ताहरूले भोग्नुपरेका समस्या र चुनौतीबारे छलफल गरी साझा धारणा बनाउने तथा संरक्षण अभियानमा ऐक्यबद्धता कायम गर्ने तयारी गरिएको उनले बताए।

अनिल पराजुली
थप जानकारी