हेटौंडा उपमहानगरपालिका-२ स्थित सन्चो अस्पतालका दुई चिकित्सकमाथि कुटपिट भएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडिओमा एक हुल मानिसहरू आएर दुई चिकित्सकमाथि अन्धाधुन्ध प्रहार गरेको देखिन्छ।

अस्पतालका अनुसार घटना हिजो बुधबार बिहान १० बजेतिरको हो। गत साउन २५ गते हेटौंडा-१२, पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएपछि त्यसको एक महिनापछि परिवार र आफन्तहरूले सन्चो अस्पतालका चिकित्सकमाथि कुटपिट गरेका हुन्। कुटपिटपछि अस्पतालमा कार्यरत दुई जना चिकित्सक डाक्टर विकास थापा र डाक्टर प्रशान्त विडारी घाइते छन्।

डा. थापाको मुखको हड्डी भाँच्चिएको छ भने अर्का डाक्टर विडारीको अनुहारमा चोट लागेको छ।

चिकित्सकमाथि आक्रमण भएको उक्त घटनाबारे हामीले डा. विडारीसँग कुराकानी गरेका छौं : गत साउन २२ गते दिउँसोतिर बिरामी आउनुभएको थियो। उहाँमा डेंगीका कारण निमोनियाको समस्या देखिएको थियो। त्यसपछि हामीले आइसियूमा राखेर उपचार गर्नुपर्छ भन्यौं। तर परिवारले मान्नुभएन। उहाँहरूले वार्डमै राखेर उपचार गर्ने कुरा गर्नुभयो। पछि हामीले हेरचाह पनि राम्रो हुन्छ, एचडियूमा भए पनि राखौं भनेर आग्रह गरेपछि परिवार तयार हुनुभयो।

एचडियूमा उपचार सुरू गरेको पहिलो रातमै बिरामीको अवस्था थप जटिल भएपछि हामीले २३ गते बिहानै चितवन मेडिकल कलेज रिफर गर्‍यौं। त्यहाँ तीन दिन उपचार भएपछि बिरामीको साउन २५ गते बेलुका मृत्यु भयो। बिरामीको मृत्यु भएको भोलिपल्ट परिवार र आफन्तहरू हाम्रो अस्पतालमा पनि कुरा गर्न आउनुभयो। र हामीले बिरामीको मृत्युको कारणहरूबारे बताएपछि उहाँहरू घर जानुभयो।

त्योभन्दा अगाडि पनि बिरामी सन्चो अस्पतालमा आउनुभएको थियो। त्योबेलै उहाँ डेंगीको समस्या लिएर आउनुभएको थियो। जाँच गर्दा सामान्य ज्वरो देखिएपछि परिवारले नै घरमै आराम गर्छौं भन्नुभयो। पछि दोस्रो पटक पनि डेंगी भएपछि उहाँहरू साउन २२ गते अस्पताल आउनुभएको थियो।

अनि अहिले एक महिना अगाडिको घटनालाई लिएर उहाँहरूले हामीमाथि आक्रमण गर्नुभयो।

हिजोको घटनाको कुरा गर्नुपर्दा हामी डाक्टर विकास र म दुबै जना बिरामीको राउन्डिङमा थियौं। त्यही बेला पाँच जना जति मानिस आएर कुरा गर्नुछ भन्नुभयो। ठिकै छ एकैछिनपछि कुरा गरौंला भनेर हामी बिरामीको राउन्डिङमै थियौं। तर हामी राउन्ड लिँदालिँदै बाहिर २०-२५ जनाको हुल भेला भइसकेको रैछ। त्यसपछि एक्कासी हुल आएर डाक्टर विकासलाई तान्यो र पञ्च हानिहाल्यो। मैले डाक्टर विकासलाई तान्न खोज्दा मलाई पनि धमाधम हान्न थाल्यो। पछि कोठामा लगेरसमेत कुटपिट गर्‍यो।

अहिले कुटपिटबाट डाक्टर विकासको मुखको हड्डी भाँच्चिएको छ। शल्यक्रिया गर्नुपर्छ। मेरो पनि फेसियल इन्जुरी छ।

हिजोको घटनापछि प्रहरीको टोली पनि आएको थियो। तर हिजो प्रहरी पक्षबाट पनि कमजोरी भएको देखियो। किनकी कुटपिटबाट घाइते भएका हामीलाई अस्पताल लानुपर्नेमा प्रहरीले कुराकानीका लागि जिल्ला प्रहरी कार्यालय लगेर गयो।

घटनाबारे एसपीसहितको टोलीको रोहबरमा कुरा गरियो। त्यहाँ पनि उनीहरूले एसपीकै अगाडि जो-जो डाक्टरले जाहेरी दिन्छ सबैलाई काटेर हिँड्छौं भने। एसपीकै अगाडि काटेर हिँड्छु भनेपछि मुद्दा हाल्ने आँट कसरी आउँछ? कतिले त हामी जेल गइरहेकै मान्छे हो बाल छैन समेत भने। त्यसपछि हामी केही नभनी त्यहाँबाट उठेर हिँड्यौं।

घटनाको भोलिपल्ट भिडिओ भाइरल भयो। सबैले घटनाको विरोध गरे। अहिले फेरि एसपी र सिडिओसँग कुराकानी गर्‍यौं। अब थप सुरक्षाको प्रत्याभूति नभइञ्जेल पेन डाउन गर्ने निर्णय गरेको छौं। नेपाल चिकित्सक संघ, निजी अस्पतालहरूको छाता संगठन ‘अफिन’ र हेटौंडा शाखाले मुद्दा अघि बढाउने कुरा भएको छ।

यद्यपि यो घटनापछि मन विक्षिप्त भएको छ। म पनि यहीँको स्थानीय हो। डाक्टरहरू विदेशिने लर्को चलिरहेको बेला आफ्नै ठाउँको सेवा गर्छु भनेर आएको थिएँ। अनि यसरी आक्रमण भएपछि कसरी काम गर्न सकिन्छ। हिजोको घटनापछि बाहिरका चार-पाँच जना डाक्टरहरूले राजीनामा दिनुभयो। उहाँहरूले लोकल मान्छेमाथि त आक्रमण हुन्छ भने हामीलाई झन् के होला भन्दै राजीनामा दिनुभएको छ।
Via : Setopati

अनिरुद्रखबर संवाददाता
थप जानकारी