हेटौंडा । स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट निर्वाचित भए लगतै पदभार ग्रहण गरेका हेटौंडा उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखले आफ्नो प्रतिवद्धता अनुसार काम अघि बढाएका छन् ।

पदभार ग्रहणपछि प्रमुख मिनाकुमारी लामाले ५ वटा जनपक्षीय निर्णय गरेकी छिन् । उनले नगरभित्र बसोबास गर्ने अति विपन्न घरपरिवारमध्ये हाल १५ सय ४१ परिवारलाई निःशुल्क स्वास्थ्य विमा गर्ने निर्णय गरेकी छिन् । उनले उल्लेखित घर परिवारलाई १५ हजार लिटर पानी र २५ युनिट विद्युत निःशुल्क उपलव्ध गराउने निर्णय समेत गरेकी छिन् ।

त्यसैगरी, आर्थिक अवस्थाको कारणले शिक्षा हासिल गर्नबाट बन्चित विद्यार्थीलाई प्रोत्साहन र सहुलियत दिन मेयर छात्रबृत्ति कार्यक्रम संचालन गर्ने, बाटो विस्तारका क्रममा बाटोको बीच भागमा परेका विद्युतका पोल हटाई छेउ किनारामा स्थापना गर्ने र महिला जागरण समूहमार्फत लैंगिक हिंसाविरुद्धका अभियान सञ्चालन गर्दै पीडित/प्रभावित महिला तथा बालबालिकालाई अल्पकालिन आश्रयस्थलमार्फत प्रभावकारी रुपमा पुर्नस्थापना कार्यहरु संचालन गर्ने निर्णय समेत भएको छ ।

निर्णयहरु कार्यान्वयनका लागि कर्मचारीहरुलाई जानकारी समेत गराईएको छ ।