हेटौँडा । बागमती प्रदेशको काठमाडौँ, ललितपुर र भक्तपुर बाहेकका दश जिल्लामा पछिल्लो समय आर्थिक अपराधका घटना बढेको छ । सङ्गठित तथा आर्थिक अपराध सम्बन्धित घटना बढेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको तथ्याङ्कले देखाएको छ ।
तीन आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा सङ्गठित तथा आर्थिक अपराध सम्बन्धित घटनामा बढोत्तरी भएको छ । आव २०७९÷८० मा ९०४ सङ्गठित तथा आर्थिक अपराधका घटना दर्ता भएकोमा आव २०८०÷८१ मा एकहजार ३३४ पुगको थियो भने गत आवमा बढेर एकहजार ४७५ पुगेको छ । आव २०७९-८० को अनुपातमा गत आवमा मुद्दा दर्तामा बृद्धि भएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आव २०८१÷८२ मा ज्यान सम्बन्धित एकहजार २९, आत्महत्या सम्बन्धित ८२८, चोरी सम्बन्धित ३८६, सामाजिक अपराध सम्बन्धित ८८६, सवारी सम्बन्धित ३२६ र अन्य ४२२ अपराधसँग सम्बन्धित घटना घटेका छन् ।
प्रहरीको तथ्याङ्क अनुसार मुद्दा दर्ता तथा अपराधमा बढोत्तरी भएको छ । आव २०७८–७९ मा चार हजार ४०५ मुद्दा दर्ता भएकोमा आव ७९–८० मा बढेर चार हजार ६७९ पुगेको थियो भने आव २०८०–८१ मा पाँच हजार १९६ मुद्दा दर्ता भएकोमा गत आवमा पाँच हजार ३३३ मुद्दा दर्ता भएको छ । वितेका आवको तुलनामा गत आवमा दर्ता भएको मुद्दा तुलनात्मक हिसाबले धेरै रहेको छ ।
त्यस्तै गत आवमा ४७६ लागू औषध, ६९ कर्तव्य ज्यान, २५४जबरजस्ती करणी, ७ मानव बेचबिखन तथा ओसार पसार, ५ अपहरण तथा शरीर बन्धक, १ डाँका र अन्य १८ अपराधका घटना भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
त्यस्तै महिला तथा बालबालिकाविरुद्धको अपराध पनि बढ्दै गएको छ । गत आवमा २५३ वटा जबरजस्ती करणी, ३९ बहुविवाह, ५० जबरजस्ती करणी उद्योग र ७ वटा मानव बेचबिखन तथा ओसारपसार, बोक्सीको आरोपमा यातना १ र ३ बाल विवाहसँग सम्बन्धित अपराधका घटना भएका छन् ।


अनिल पराजुली 









प्रतिक्रिया दिनुहोस्