हेटौंडा–४, मा रहेको आधुनिक राष्ट्रिय माध्यामिक विद्यालय मकवानपुर जिल्लाको नमूना विद्यालय हो । विद्यार्थी, अभिभावक सबैको रोजाईंमा यो विद्यालय पर्न सफल छ । मधेश प्रदेशका जिल्लाका विद्यार्थीको पनि उत्तिकै आकर्षणको केन्द्र बिन्दु हो आधुनिक । दुइ दशकदेखि जिल्लामा उत्कृष्ट नतिजा हासिल गर्दै सबैको रोजाईमा पर्न सफल भएको छ । यसैबिषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महमद समिम (समिम खान) सँग अनिरुद्र मिडियाले विद्यालयको शैक्षिक गुणस्तरदेखि विद्यालयको समग्र पक्षको व्यवस्थापकीय भूमिका, उत्कृष्ट नतिजा र सबैको रोजाईंका बिषयमा गरिएको संक्षिप्त कुराकानीको अंशः

१) विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएपछि के–के गर्नुभयो ?
– यसअघि म यस बिद्यालयको विद्यालय व्यवस्थापन समितिको सदस्यमा थिए । सदस्यमा हुँदा विद्यालयको बिषयमा केही बुझ्न पाए । २०७९ सालदेखि मैले विद्यालय व्यवस्थापन समिति समितिको अध्यक्षको रुपमा जिम्मेवारी पाए । त्यो जिम्मेवारी पाएसँगै मैले विद्यालयमा सबैभन्दा पहिले शिक्षकहरुको पहिरनमा रहेको भिन्नता हटाए । सबैलाई अनिवार्य रुपमा विद्यालय पोशाक लगाएर मात्रै विद्यालय आउन भने । विद्यालय क्षेत्रमा पार्किङ अस्तव्यस्त भईरहेको थियो, मैले पार्किङको उचित व्यवस्थापन मिलाए, विद्यार्थीहरु विद्यालय अनुपस्थित भए अभिभावकलाई जानकारी गराउने व्यवस्था मिलाए, विद्यालयमा सेमिनार हलको अभाव थियो, हल निर्माण गर्न पहल गरे । बिद्यार्थीका लागि ल्याव, विद्यालयमा दशजोड दुइ विज्ञान बिषय संचालन, इसिडीको व्यवस्थापन, क्यान्टिन हल र लामो समयदेखि हेटौंडा क्याम्पस र आधुनिक बिच बाटोको समस्या समाधान गरे ।

२) शैक्षिक सुधार र उत्कृष्ट नतिजा कायम राख्न के गर्नुभयो ?
–मैलें विद्यालयको आन्तरिक स्रोतबाट शिक्षक/शिक्षिकालाई प्रोत्साहन गर्न बार्षिक पाँच लाख रुपियाँ बिनियोज गर्न लगाए । शिक्षक/शिक्षिकाको कार्यमूल्याङ्कन गरेर उहाँहरुलाई कामको आधारमा प्रोत्साहन गर्नेछौं । विद्यार्थीको शैक्षिक अवस्थालाई अझैं सुदृढ बनाउन शिक्षक/शिक्षिकाको महत्वपूर्ण भूमिका हुनेभएकाले उहाँहरुलाई प्रोत्साहन गरिदिदा पक्कैपनि नतिजा राम्रो आउँला भन्ने अपेक्षाका साथ यो कार्यक्रम अगाडि बढाएको हुँ ।

३) सबैको रोजाईंमा किन यो बिद्यालय परेको छ ?
–हामी कहाँ एउटा सिस्टम छ, त्यही नीति नियम भित्र रहेर हामी सबैले काम गरिरहेका छौं, यहाँ शैक्षिक गुणस्तर बृद्धि गर्न हामी सबै लागेका छौं, नीजि भन्दा सामुदायिक विद्यालयमा अभिभावकहरुले बिद्यार्थी पढाउनुहुन्छ । बिद्यार्थीहरुको बिशेष ख्याल राख्न हामीले कक्षागत संयोजक बनाएका छौं, बिद्यार्थीलाई नियमित गृह कार्यदिने र परीक्षण गर्ने काम पनि गरिरहेका छौंँ । हामी विद्यार्थीको उज्वल भबिष्यप्रति जिम्मेवार भएर लागेका छौं । नतिजा पनि राम्रो आईरहेको छ ।

४) नयाँ बिषय के छ ?
–दश जोड दुईपछि यहाँ कमर्श, कम्युटर र साइन्स बिषय अध्यापन हुने गरेको छ । साइन्स पढ्नका लागि बिद्यार्थीले धेरै खर्च गरेर नीजि बिद्यालयमा जानुपर्ने बाध्यतालाई न्यूनीकरण गरेका छौं, पहिलो ब्याचमा हामीले ४५ जना पढायौं, उहाँहरुलाई छात्रबृत्ति पनि दिएका छौं । २ हजार ७६५ जना बिद्यार्थी अध्ययन गरिरहनु भएको यस बिद्यालयबाट यही चैत १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ३३७ जना बिद्यार्थी सहभागि हुँदै हुनुहुन्छ ।

५) उत्कृष्ट नतिजा कसरी हासिल गर्नुभएको छ ?
–२०६९ साल अर्थात दुइ दशकदेखि जिल्लामा हामी प्रथम हुन सफल भएका छौं । टीम वर्कमा काम गरेका छौं, शिक्षक, प्रशासन, विद्यार्थी, अधिभावक सबैको मेहनतले नै अहिले सम्म सामुदायिक विद्यालयप्रतिको आशा, भरोसा र विश्वास हामीले कायम राख्न सफल भएका हौं, यहाँ अभिभावकले बिद्यार्थी पठाउने भन्दा पनि आफ्नो भरोसा र आशा जम्मा गर्नुहुन्छ । हाम्रो शिक्षण बिधिले प्राप्त नतिजा देखेर अभिभावकहरु सन्तुष्ट हुनुन्छ । हामीले कमजोर विद्यार्थीलाई सफल नभएसम्म परीक्षा लिने र थप कक्षाहरु संचालन गर्दै उहाँहरुको बृद्धि विकास र शैक्षिक गुणस्तरलाई टेवा पुर्याउनेगरी काम गरिरहेका छौं । कमजोर बिद्यार्थीलाई शैक्षिक थेरापि दिईरहन्छौं, जस्को फलस्वरुप उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका हौं । अभिभावकसंग पनि नियमित सम्पर्कमा रहेका छौं, नतिजा आएपछि अभिभावकलाई बोलाएर उहाँका बच्चाहरुको बिषयमा जानकारी दिर्दै सुधारका बिषयमा पनि जानकारी गराउँछौं । आफ्ना बालबच्चालाई थप समय दिनपनि अभिभावकलाई आग्रह गर्ने गरेका छौं ।

६) र अन्त्यमा …
–आजका विद्यार्थी भोलिका देशका कर्णधार हुन, त्यसैले विद्यार्थीको शैक्षिक स्तर सुधार गर्न बिद्यालय, प्रशासन, शिक्षक/शिक्षिका, अभिभावक, समुदाय सबैको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । शिक्षकले कक्षाकोठामा प्रबेश गरेपछि बिद्यार्थी वर्गलाई आफ्नै सन्तान ठानेर इमान्दारीपूर्वक शिक्षा दिनुपर्छ, अभिभावकको भूमिका सक्रिय हुनपर्छ, बालबच्चाहरुको शैक्षिक अवस्थाबारे नियमित बिद्यालयमा गएर अभिभावकले चासो राख्न जरुरी छ । सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार्न, विश्वास कायम गर्न स्थानीय प्रशासन, सरोकारवाला निकायले पनि नियमित अनुगमन र चासो दिनुपर्छ ।