काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि साउन २३ गतेदेखि निष्काशन खुला गरेको आईपीओमा आवेदन दिने २६ गते शुक्रबार अन्तिम दिन हो ।

इच्छुक लगानीकर्ताहरुले शुक्रबार कार्यालय समयभित्र उक्त कम्पनीको आईपीओका लागि आवेदन दिन सक्ने छन् । अघिल्लो दिन आज साँझ ५ बजेसम्म १० लाख ८२ हजार ३ सय ७९ जनाले १ करोड ३० लाख ५९ हजार ४ सय ६० कित्ताका लागि आवेदन दिइसकेका छन् ।

कम्पनीले जारी पूँजी ४ अर्ब रुपियाँको ३० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपियाँको आईपीओ निष्काशनका लागि सेबोनबाट स्वीकृति पाएको थियो । स्वीकृति पाए अनुसार कम्पनीले प्रतिकित्ता १५७ रुपियाँ प्रिमियम थप गरेर २५७ रुपियाँमा १ करोड २० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

उक्त आईपीओमध्ये १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरिएको छ । ६ लाख कित्ता कर्मचारी र ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ९६ लाख कित्ताका लागि  सर्वसाधारणहरुले आवेदन दिन सक्ने बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।

सर्वसाधारणका लागि छुट्याइएको ९६ लाख कित्ता आईपीओ ९ लाख ६० हजार जनाले १०–१० कित्ताका दरले पाउने छन् ।