हेटौंडा । शेयर बजार आज पुनः दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन आइतबार १०० अंकभन्दा बढीले बढेको बजार हिजो सोमबार ब्रोकरको डाटा सेन्टरमा समस्या उत्पन्न भई प्रभावित भएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज बजार १७.१५ अंकले घटेको हो । ०.६४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६५०.९७ अंकमा झरेको छ । आज २२९ कम्पनीका ६५ लाख २९ हजार २६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १ सय ७५ रुपियाँ बराबरको कारोबार भएको हो ।

बजार घटेको दिन आज होटल, निर्जीवन बीमा, जीवन बीमा र म्युचुअल फण्ड क्रमशः ९७.७, ६७.३३, १०२.७४ र ०.०९ अंकले बढे पनि बाँकी समूह भने राताम्मे भए । नेप्सेका अनुसार आज सबैभन्दा बढी इमर्जिङ नेपाल लिमिटेडका लगानीकर्ताहरुले ९.९८ प्रतिशतले नाफा कमाएका छन् भने नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका लगानीकर्ताले ५.१३ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आजैमात्रै लाभांश घोषणा गरेको दूरसञ्चार कम्पनीकै आज उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३४ करोड २३ लाख ५७ हजार १ सय ९४.२० रुपियाँ बराबरको कारोबार भएको हो ।