हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट नगर सभाबाट सर्वसम्मत पारित भएको छ ।

आज सम्पन्न नगर सभाबाट आगामी आर्थिक वर्ष २०७९÷८० नीति, कार्यक्रम र बजेट संशोधनसहित पारित भएको हो । नगर प्रमुख मिना कुमारी लामाले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति, कार्यक्रम र बजेट नगर परिषदबाट पारित भएको घोषणा गरेका हुन ।

सोमबार बसेको नगर सभाले ७ वटा निर्णय गरिएको छ । सभाले सामाजिक विकास महाशाखाको प्रमुख संयोजक रहने गरी जग्गा वर्गीकरण कार्यदल गठन गर्ने निर्णय गरेको छ । हाल रोकिएका जग्गा कित्ताकाट खुल्ला हुनेछ । यस्तै सुरक्षित आप्रवासन कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने निर्णय गरिएको छ । साविक नगरपालिकाबाट उपमहानगर घोषणा हुने क्रममा गाभिएका गाविस क्षेत्रका वडामा अधिकृत खटाउने निर्णय गरेको छ । सबै वडाको फोहोर व्यवस्थापनका लागि डम्पिङ साइट अध्ययन गरिने, नगरका सामुदायिक विद्यालयहरुमा रिक्त हुने स्थायी दरबन्दी तथा राहत कोटामा शिक्षक नियुक्त गर्न उपमहानगरपालिकाको तर्फबाट शिक्षकको रोष्टर सूची तयार गर्ने निर्णय गरेको छ ।

यस्तै नगरका स्वास्थ्य संस्थाबाट स्वास्थ्य बीमा सुविधा समेतमा सहजीकरण गर्ने गरी आधारभुत अस्पताल सञ्चालन गरी आठौँ तहको दुई जना डाक्टर नियुक्ती गर्ने र वृत्ति विकास सम्बन्धी विशेष ऐन २०७५ खारेज गरी नयाँ कानुन तर्जुमा गर्ने बैठकले निर्णय गरेको छ ।
साभारः समृद्ध समाज