गोरखा । मंगलबार गोरखाको पालुङटार नगरपालिका–९ स्थित शेराफाँट पुग्दा विद्यार्थीहरु खेतीमा व्यस्त देखिन्थे । कोही ट्याक्टरले खेत जोत्दै थिए, कोही तरकारी लगाउँदै । उनीहरुलाई शिक्षकले पनि साथ दिइरहेका थिए ।

त्रिवेणी माध्यमिक विद्यालयका विद्यार्थीहरु यतिवेला बाँझो जमिनमा खेती गर्न अग्रसर छन् । बिशेष गरी कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले दश रोपनी क्षेत्रफलमा आलु लगाएका छन् भने आठ रोपनीमा अन्य तरकारी लगाएका छन् । जमिन भाडामा लिएर खेती शुरु गरिएको विद्यालयका प्रधानाध्यापक गणेशराज सेडाईंले बताए ।

‘स्कुल नजिकै रहेको फाँटमा दश रोपनी बाँझो जमिन थियो,’ उनले भने, ‘त्यही जग्गा पाँच वर्षका लागि भाडामा लिएर विद्यार्थीलाई आलु खेती गर्न सिकाएका हौं ।’ त्यस्तै विद्यालय हाता नजिकै रहेको आठ रोपनी बाँझो जमिनमा तरकारी खेती गर्न लगाइएको उनले बताए । उनका अनुसार उक्त जग्गा पनि पाँच वर्षका लागि भाडामा लिइएको छ । सो जग्गामा करेला, घिरौंला, काँक्रो लगायतका तरकारी लगाइएको बताउँदै उनले थपे, ‘यहाँ लगाउने बिरुवा पनि विद्यार्थी आफैंले उत्पादन गरेका हुन् ।’

चालु शैक्षिक सत्रबाट विद्यालयले कक्षा ९ मा कृषि धार तर्फको पाठ्यक्रम लागू गरेको छ । प्रयोगात्मक परीक्षाका लागि पनि जमिन आवश्यक पर्ने भएकाले कुल १८ रोपनी जग्गा भाडामा लिएर विद्यार्थीलाई खेती गर्न सिकाइएको उनले बताए । ‘अहिले ९ कक्षामा कृषि धारको पढाइ शुरु गरेका छौं, अर्काे वर्ष दश कक्षामा पनि शुरु गर्छाै,’ उनले भने । कक्षा १२ सम्मका लागि अनुमति पाइसकेको उनले जानकारी दिए ।

कक्षा ९ मा हाल २८ जना विद्यार्थी छन् । एक बजेसम्म उनीहरु कक्षाकोठामै पढ्छन् र बाँकी समय खेतीमा व्यस्त हुन्छन् । बाँझो जमिनमा खेती गर्न विद्यार्थीहरु पनि उत्साहित छन् । ‘हामी किसानकै छोरा हौं, घरमा पनि खेती गर्दै आएका छौं,’ विद्यार्थी विपल सेडाईंले भने, ‘घरमा विधि नपुर्‍याइ आफ्नै ढंगले लगाउथ्यौं । तर यहाँ पढाइसँगै खेती गर्ने विधिबारे पनि जानकार भएका छौं ।’ विद्यालयमा सिकेको सीपले घरमा खेती गर्न पनि सहज भएको अर्का विद्यार्थी मोहित कुवँरले बताए ।

कृषि बिषय पढाउनका लागि विद्यालयले दुई जना कृषि प्रशिक्षकलाई करारमा नियुक्ति गरेको छ । उनीहरुले विद्यार्थीलाई खेती सम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक सिप सिकाउँछन् । जैविक र प्राङ्गारिक मलको प्रयोग गरेर जैविक बिधिबाट खेती गर्न सिकाइएको प्रशिक्षक प्रमिला अधिकारीले बताइन् ।

पढ्दै र सिक्दै अभियानलाई आत्मसाथ गर्दै कृषि बिषयको अध्ययापन शुरु गरिएको विद्यालयले जनाएको छ । खेतीबाट उत्पादित तरकारीलाई स्थानीय बजारमा बिक्री गर्ने र आम्दानीको २५ प्रतिशत विद्यार्थीलाई र बाँकी विद्यालयमा राखिने प्रअ सेडाईंले जानकारी दिए ।

साभारः अनलाइन खबर