हेटौंडा । पशु सेवा कार्यालय हेटौंडा मकवानपुरले मंगलवार जिल्लाका विभिन्न स्थानमा व्यावसायिक कृषिकर्ममा क्रियाशील तीनजना अगुवा कृषकलाई पुरस्कृत गरेको छ ।

जिल्लाको थाहा नगरपालिका वडा नं. ७, डाँडावास कृषि प्रालि मार्फत बाख्रा पालन गरिरहेका इमान सिं थिङ, मनहरी गाउँपालिका–७, रमौलीको रवि व्यवसायीक कृषि फर्म मार्फत कागती र ड्रागन खेती गरिहेका मुना अर्याल र हेटौंडा–१७ स्थित विविआर एग्रो प्रालि मार्फत वोयर जातको बाख्रा पालन गरिरहेका झम्कनाथ सुवेदी (विवेक) लाई जिल्लास्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत गरेको हो ।

तीनै जना कृषकलाई एक कार्यक्रम गरी पुरस्कार प्रदान गरिएको थियो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान र प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले राष्ट्रपति उत्कृष्ट पुरस्कारका लागि छनोट भएका कृषकलाई २५ हजार रुपियाँ नगदसहित सम्मान गरे ।

जिल्ला समन्वय समितिको संयोजकत्वमा चितवन ज्ञान केन्द्र सदस्य सचिव र पशु सेवा कार्यालय हेटौंडा मकवानपुर सदस्य रहेको समितिले बनाएको जिल्लास्तरीय उत्कृष्ट कृषक छनोट विधि अनुसार उत्कृष्ट ठहरिएका कृषकलाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कारका लागि जिल्लाभरबाट ११ वटा प्रस्ताव दर्ता भएका थिए । तीमध्ये तीन कृषकलाई बनाइएको मूल्याङ्कनका विभिन्न मापदण्ड अनुसार छनोट गरिएको पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डाक्टर बज्र किशोर ठाकुरले जानकारी दिए ।

पुरस्कार प्राप्त गर्ने डाँडावास कृषि प्रालिले बाख्रा पालनका साथै व्यवसायीक तरकारी खेती गर्दै आईरहेको छ । दुई पुस्तादेखि कृषि कार्यगर्दै आएको सञ्चालक इमान सिं थिङले बताए । उनको परिवारले ६० वटा खरिजात, जमुना पारी र वोयर जातको बाख्रा पालन गर्नुका साथैं पालुङमा मुला, बन्दा, काउली, आलु लगायतका तरकारी व्यवसायीक रुपमा गर्दै आएका छन । उनले ४० रोपनीमा कृषि कर्म गरेका छन् भने बाख्राको लागि जैं घास, सुपर नेपिएर, धुधिलो घाँस लगाएका छन । उनले कृषि र बाख्रा पालनबाट बार्षिक करिव १४ लाख रुपियाँ आम्दानी गर्दै आएका छन् ।

त्यस्तै रवि व्यवसायीक कृषि फार्म मार्फत २०६७ सालदेखि एकसय पाडापालनबाट सुरुवात गरेका अर्याललये २०६८ सालमा कुखुरा पालनदेखि कागती खेती, ड्रागन खेती गर्दै आएका छन् । करिव १२ कठ्ठा क्षेत्रफलमा सुन कागती, ड्रागन, कुरिलो खेती गर्दै आएका अर्यालले ५ जनालाई रोजगारी समेत दिएका छन । उनले करिव एक करोड लगानीमा कृषि कर्म गर्दै आएका छन भने उनले अर्गानिक खेती गरेका छन । बार्षिक २० लाख सम्मको कारोवार गर्ने अर्यालले बार्षिक ६ लाख सम्म आम्दानी गर्ने गरेको बताए ।

त्यस्तै विविआर एग्रो प्रालिका सञ्चालक झम्कनाथ सुवेदी (विवेक) ले बोयर जातको बाख्रा पालन गर्दै आएका छन । उनले व्यवसायिक रुपमा गरेको फर्म मार्फत बोयर जातको पाठापाठी उत्पादन गरेर बिक्री बितरण गर्दै आएका छन् । कुखुरा पालनबाट कृषिको व्यवसायीक यात्रा सुरु गरेका सुवेदी वल्डफ्लुले सबै कुखुरा मरेपछि बाख्रा पालन व्यवसायमा लागेका थिए । उनले अष्ट्रेलियाबाट वोयरजातको बोका ल्याएर बाख्रा पालन व्यवसाय सुरु गरेका थिए । उनले देशको ६५ जिल्लामा वोयरजातको बोका बिक्री गरेको बताए । उनी युवा कृषक पनि हुन् ।

सम्मान कार्यक्रममा पशुविकास अधिकृत डाक्टर मदन भण्डारी, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अमिक श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाकी राज्यश्वरी शाही, विक्रम कुमार चाम्लिङ, पशु चिकित्सक डा. विजय पौडेल, मत्स्य विकास अधिकृत सुस्मिता पौडेल लगायतकाको सहभागिता रहेको थियो ।