हेटौंडा । प्रदेश बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र हेटौँडाले लक्ष्यको आधा बीउ प्रमाणीकरण गरेको छ । चालुआर्थिक बर्षमा दुई सय मेक्ट्रिक्टन बीउ प्रमाणीकरण लक्ष्य राखेकोमा सात महिनाको अवधिमा गहुँको ९६ दशमलव ८७ मेक्ट्रिकटन बीउ प्रमाणीकरण गरेको हो ।

प्रदेश बीउबिजन गुणस्तर केन्द्रले माघ मसान्तसम्म विजय, गौतम, एनएल ९७१ जातको गहुँको बीउ प्रमाणीकरण गरेको सूचना अधिकारी सिर्मला योन्जनले जानकारी दिइन् । “पहिलो चरणमा गहुँको बीउ प्रमाणीकरण ग¥र्यौ, अब बागमती प्रदेशका जिल्लाबाट आएका खाद्यान्न, तेलहन र दलहनको बीउ पनि प्रमाणीकरण गर्छौं”–सूचना अधिकारी योन्जनले भनिन् ।

चितवन, धादिङ, काभ्रे, मकवानपुर, दोलखा, सिन्धुपाल्चोक र नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुरमा उत्पादन भएको धान, गहुँ, मकै, तोरी, मुसुरो, कोदो, भटमास लगायतको बालीको प्रदेश बीउबिजन गुणस्तर निणन्त्रण केन्द्रले बीउ सिफारिस र प्रमाणीकरण गर्दै आएको प्रदेश बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र हेटौैँडाका सूचना अधिकारी योन्जनले बताइन् । उनले उमार शक्ति, चिस्यान र बीउको शुद्धताको आधारमा प्रमाणीकरण गर्ने गरेको बताइन् । “बाली अनुसार फरक–फरक मापदण्ड हुन्छ, बीउको खडावाली, रोग किरा लागे नलागेको, सम्बन्धित स्थानमा गएर मूल बीउ र प्रमाणीक बीउको नमुना ल्याएर प्रयोगशालामा शुद्धता, उमार शक्ति हेरेपछि मापदण्ड पूरा भएका बीउलाई प्रमाणीकरण गर्ने गरेका छौँ,” उनले भनिन् ।

चालु आवको साउनदेखि माघ समान्तसम्म प्रदेशभर ६५९ हेक्टर क्षेत्रफलमा धान र मकै बालीको निरीक्षण गरिएको छ । त्यस्तै कार्यालयले हालसम्म गहुँ बीउ २७४, मकै बीउ ३१, धान ३१, घाँस बीउ १२, तेलहनबाली १४, दलहन बीउबाली ५, तरकारी बीउ ५ गरी ३७८ वटा बीउको नमूना परीक्षण गरेको छ । प्रदेश कार्यालयले २० वटा नमूनाको क्रसचेक समेत गरेको छ । चितवन, मकवानपुर, धादिङ र काभ्रेमा धान, मकै, गहुँ, तरकारी र जै घाँसको बीउविजनमा आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिएको छ । बीउ बजार प्रवर्द्धन तथा सहयोग कार्यक्रम, बीउ स्रोत केन्द्र स्थापना, गुणस्तर नियन्त्रण तथा नियमन गर्ने लगायतका कार्य हेटौँडा कार्यालयले गर्दै आएको छ । प्रदेशमा सबैभन्दा धेरै बीउ विजन उत्पादन गर्ने जिल्ला चितवन रहेको छ भने सबैभन्दा न्यून रसुवा छ ।

बागमती प्रदेशमा व्यावसायिक रूपमा मुख्य खाद्यान्न, दलहन, तरकारी बालीको गुणस्तरीय बीउ उत्पादन तथा प्रमाणीकरण हुने गरेको छ । हेटौँडामा रहेको प्रयोगशाला सँगको समन्वयमा नियमित रूपमा बीउ उत्पादन तथा प्रमाणीकरण गर्ने गरिएको छ । कृषि उत्पादन वृद्धिको लागि उन्नत जानतको गुणस्तरयुक्त बीउको प्रयोग पूर्व सर्त भएको बताउँदै बीउ बिजन प्रयोगशाला हेटौँडाका सूचना अधिकारी योन्जनले गुणस्तरयुक्त बीउ एक आधारभूत, संवेदनशील सामाग्री भएकाले उत्पादकत्व तथा आर्थिक वृद्धिमा प्रभाव पार्ने बताइन् ।

प्रदेश बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रले बीउ बिजन परीक्षणको सेवा शुल्क समेत निर्धारण गरेको छ । केन्द्रले उमारशक्ति परीक्षणका लागि प्रति नमूना २२९ रुपैयाँ दर तोकेको छ । त्यस्तै शुद्धता परीक्षणका लागि १७४ रुपैयाँ, चिस्यान परीक्षणका लागि १५४ रुपैयाँ, टेट्राजोलियन टेष्ट २८९ रुपियाँ, भिगर परीक्षण २३२ रुपियाँ, बीउको स्वास्थ्य परीक्षणका लागि ३५१ रुपियाँ शुल्क तोकेको छ । एक हजार दाना तौल ११० रुपियाँ र बीउ नमूना लिए बापत प्रति नमूना २१४ तोकिएको छ । खेत निरीक्षणका लागि ३२० प्रति हेक्टर र बीउ प्रमाणिकरणका लागि प्रति मेक्ट्रिक्टन एकसय तोकिएको छ । नेपाल सरकारको २०७० माघ ८ गतेको निर्णयानुसार खण्ड ६३ अतिरिक्ताङ्क ३० (क) नेपाल राजपत्र भाग ५ को २०७० फागुन १ मा प्रकाशित सूचना अनुसार शुल्क लिइएको कार्यालयले जनाएको छ ।

नेपालमा २० देखि २५ प्रतिशत उत्पादन वृद्धि गुणस्तरयुक्त बीउको कारणले हुनेगरेको तथ्याङ्क छ । नेपालमा कूल बीउको माग करिब ४५ हजार मेक्ट्रिकटन भए पनि ३८ हजार मेक्ट्रिक्टन मात्रै आपूर्ति भएको देखिन्छ । हाल नेपालमा करिब २२ प्रतिशत बीउ मात्रै औपचारिक क्षेत्रबाट आपूर्ति भइरहेको छ ।

अनिल पराजुली
थप जानकारी