हेटौंडा । बागमती प्रदेशमा रासायनिक मल उत्पादनको सम्भाव्यता अध्ययन गर्न काठमाडौं विश्वविद्यालयसँग सम्झौता भएको छ ।

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र काठमाडौं विश्वविद्यालय (केयू), धुलिखेलबीच बुधबार हरित अमोनियाबाट हरित युरिया उत्पादनका लागि सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयार गर्न सम्झौता भएको हो ।

बागमती सरकारले प्रदेशभित्र तीनवटा मल कारखाना खोल्ने निर्णय यसअघि नै गरिसकेको छ । यसबीचमा मन्त्रालयले केयूका पदाधिकारी र प्राविधिकहरूसँग मल उत्पादन कारखाना सञ्चालनका सम्बन्धमा छलफल गरेको थियो ।

केयूले छलफलका क्रममा नेपालमा हरित अमोनियाबाट हरित युरिया मल उत्पादन गर्न सम्भव रहेको तर सबै सरकारको साथ आवश्यक रहेको औँल्याएको थियो । केयूले नेपालमा पानी प्रशस्त रहेका कारण पर्याप्त विद्युत्‌को उपलब्धता भएमा हाइड्रोजन प्रविधिबाट मल कारखाना सञ्चालन गर्न सकिने जानकारी प्रदेश सरकारलाई गराएको थियो ।

काठमाडौं विश्वविद्यालयले दुई वर्षदेखि नेपालमा पहिलोपटक हरित हाइड्रोजन उत्पादन गर्न अध्ययन अनुसन्धान गरिरहेको छ । बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई भेटेर गत फागुनमा विश्वविद्यालयका ग्रीन हाइड्रोजन ल्याबका प्रमुख डा. विराज सिंह थापाले हाइड्रोजन प्रविधिबाट मल उत्पादन गर्दा उपयुक्त हुने सुझाव दिएका थिए ।

मन्त्रालय र विश्वविद्यालयबीच आगामी २०८० असार मसान्तसम्म मल उत्पादनको सम्भाव्यता अध्ययन गरिसक्नुपर्ने सम्झौता भएको छ । सम्झौतामा कृषि तथा पशुपन्छी विकासमन्त्री बसुन्धरा हुमागाईं र विश्वविद्यालयका उपकुलपति भोला थापाले हस्ताक्षर गरेका छन् । सम्भाव्यता अध्ययनका लागि मन्त्रालयसँग ५० लाखमा सम्झौता भएको हो ।

सिलापत्रबाट